रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित कास्थेम माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको चार दिने निःशुल्क स्वास्थ्य शिविरबाट तेस्रो दिनसम्म एक हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
आयोजक कादुरी एग्रीकल्चरल एड एसोसिएसन (बीटिस गोर्खाज नेपाल), पोखरा–१६ कास्कीका अनुसार पहिलो दिन शनिबार २९९ जना, दोस्रो दिन आइतबार २७६ जना र तेस्रो दिन सोमबार ३४२ जनाले सेवा लिएका हुन् । शिविरमार्फत हालसम्म ६२ जनाको मोतीबिन्दु शल्यक्रिया गरिएको छ ।
उमाकुण्ड गाउँपालिकासँगको समन्वय तथा सहजीकरणमा सञ्चालन भइरहेको शिविर मंगलबारसम्म जारी रहनेछ । शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण, मोतीबिन्दु शल्यक्रिया, दाँत उपचार तथा आवश्यक परे दाँत निकाल्ने सेवा उपलब्ध गराइएको छ ।
यसैगरी सामान्य स्वास्थ्य परीक्षण, रगत तथा दिशा–पिसाब परीक्षण, मुटुको इ.सी.जी, भिडियो एक्स–रे जाँच तथा चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि वितरण भइरहेको आयोजकले जनाएको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने आयोजकले जनाएको छ ।