भू.पू. सैनिक बचत तथा ऋण सहकारीद्वारा २६ लाख नाफा आर्जन

  • प्रकाशित मिति: सोमबार, पुष ७ २०८२
  • तामाकोशी

रामेछाप । श्री भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामेछापले आर्थिक वर्ष २०८१/८२ मा २६ लाख ११ हजार ७६८ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा संस्थाले २३ लाख ९२ हजार ४५७ रुपैयाँ नाफा कमाएको थियो । यससँगै सहकारीको नाफा क्रमशः वृद्धि हुँदै गएको देखिएको छ ।

सहकारीको कुल सम्पत्ति ९ करोड ७७ लाख १६ हजार ७३७ रुपैयाँ पुगेको छ । सीमित स्रोत र सदस्यबाट सुरु भएको सहकारीले छोटो समयमा नै आर्थिक रूपमा सुदृढ बन्दै गएको संस्थाले जनाएको छ । सोमबार मन्थलीमा आयोजित १९ औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार सहकारीले वित्तीय अनुशासन, सदस्य–मैत्री सेवा तथा पारदर्शितालाई प्राथमिकतामा राख्दै काम गर्दै आएको छ । साधारणसभा संस्थाका अध्यक्ष टहल बहादुर कार्कीको अध्यक्षता तथा जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङ्गेलले भूतपूर्व सैनिकहरूद्वारा स्थापित सहकारीले अनुशासित र जिम्मेवार ढङ्गले सञ्चालन हुँदै राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो ।



२०६३ साल पौष १८ गते २५ जना भूतपूर्व सैनिकहरूको पहलमा स्थापना भएको यस सहकारीले हाल रामेछाप जिल्लामा नमुना सहकारीका रूपमा आफ्नो पहिचान बनाउँदै गएको छ । साधारणसभामा आगामी योजना, नीति तथा कार्यक्रमसमेत पारित गरिएको सहकारीले जनाएको छ ।