नेपाली कम्युनिष्ट पार्टी रामेछापको कार्यालय उद्घाटन

  • प्रकाशित मिति: मंगलबार, मंसिर १६ २०८२
  • तामाकोशी

रामेछाप । विभिन्न वामपन्थी शक्तिबिच एकता हुँदै बनेको नेपाली कम्युनिष्ट पार्टीले रामेछापमा आफ्नो जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ। मङ्गलवार सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा रहेको तत्कालीन नेकपा माओवादी केन्द्रले प्रयोग गर्दै आएको कार्यालयलाई नै आधिकारिक रूपमा नेकपाको जिल्ला कार्यालय बनाएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ, तत्कालीन नेकपा एसका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज देवशंकर पौडेल, तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) विप्लव समुहका केन्द्रीय सदस्य सरद रसाइली लगायतका नेताहरूले संयुक्त रूपमा पार्टीको बोर्ड र पार्टीको झन्डा राखेर कार्यालय उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा तत्कालीन माओवादी केन्द्र, तत्कालीन एकीकृत समाजवादी, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) विप्लव) समुह लगायतका घटकबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वामपन्थी शक्तिबिच भएको एकतापछि रामेछापमा नयाँ संरचनासहित पार्टी गतिविधि सुदृढ रूपमा अघि बढाउने तयारी गरिएको नेकपा रामेछापले जनाएको छ । यसअघि नेकपाले मङ्गलवार नै मन्थलीमा पहिलो पटक परिचयात्मक बैठक राखेको थियो ।