रामेछापबाट १२ जना एमाले प्रतिनिधि सर्वसम्मत चयन

  • प्रकाशित मिति: आइतबार, मंसिर १४ २०८२
  • तामाकोशी

रामेछापनेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापमा दर्ता भएका ६७ उम्मेदवारबिचको तीव्र प्रतिस्पर्धा अन्ततः सहमतिको सूत्रबाट टुंगिएको छ। लगातारको छलफल, समीक्षापछि कार्यदलको सिफारिस अनुरूप आइतबार १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा छानिएका छन्।

कार्यदलले महिला तर्फ उमाकुण्ड गाउँपालिकाबाट गंगादेवी कार्की, मन्थली नगरपालिकाबाट शान्ता न्यौपाने सुवेदी, खाँडादेवी गाउँपालिकबाट मखमली श्रेष्ठ र रामेछाप नगरपालिकाबाट सीताकुमारी केसीलाई चयन गरेको  छ ।



खुला ६ जनामा गोकुलगंगा गाउँपालिकाबाट शान्ति प्रसाद पौडेल, लिखुतामाकोशी गाउँपालिकाबाट पुरुषोत्तम कडरिया, मन्थली नगरपालिकाबाट आनन्द कुमार श्रेष्ठ, खाँडादेवी गाउँपालिकाबाट इन्द्रबहादुर तामाङ, सुनापाती गाउँपालिकाबाट ज्ञानकुमार योन्जन र दोरम्बा–शैलुङ गाउँपालिकाबाट टंकप्रसाद चौलागाईलाई प्रतिनिधि बनाएको छ।

युवा तर्फ बलबहादुर माझी र उत्पीडित तर्फ सिताराम लोहार सर्वसम्मत रूपमा चयन भएको एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले बताए। रामेछापमा ४ जना महिलाका लागि १५ जना, ४० वर्ष मुनिका युवाका लागि १५ जना, उत्पीडित वर्ग १ जनाका लागि ३ जना र खुला ६ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको थियो ।

गत कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालयले मंसिर १३ सम्म प्रतिनिधि चयन सक्न निर्देशन दिएपछि रामेछापमा मंसिर ९ देखि प्रक्रिया सुरु भएको थियो। दर्ता धेरै भएपछि सुरुमा ९ सदस्यीय कार्यदल बनेको थियो ।

पछि पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमल चौलागाईको नेतृत्वमा केन्द्रीय सदस्यहरू माधव ढुंगेल, गीता कार्की र रामेछाप पार्टी अध्यक्ष पुरुषोत्तम कडरियाको ४ सदस्यीय कार्यदल गठन गरी सहमतिका लागि हस्ताक्षरसमेत गराइएको थियो।

यो प्रक्रियालाई धेरै स्थानीय नेता–कार्यकर्ताले संगठनिक परिपक्वताको उदाहरणका रूपमा व्याख्या गरे पनि केहीले गलत परिपाटी, लोकतान्त्रिक पद्धति कमजोर” भन्दै आलोचना गरेका छन्। नाम नपरेका केही उम्मेदवारले सामाजिक सञ्चालनमा स्वतन्त्र भएर बस्ने चेतावनीसमेत दिएका छन्। विशेष गरी युवा नेताहरूमा असन्तुष्टि देखिएको छ ।  एमाले रामेछापका अनुसार जिल्लामा ७ हजार ५५३ जना संगठित सदस्य छन् ।