रामेछाप । नेकपा एमाले, जिल्ला निर्वाचन कमिटी रामेछापले ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनका लागि सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि रामेछापबाट कुल १२ जना प्रतिनिधि चयन हुनेछन् । जिल्लाबाट उत्पीडित वर्ग १, महिला ४, ४० वर्षमुनिका युवा १ र खुला तर्फ ६ गरी कुल १२ जना प्रतिनिधि छानिने गरी कार्यसूची सार्वजनिक गरिएको निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिए ।
जिल्ला निर्वाचन कमिटीले जारी गरेको तालिकाअनुसार मङ्सिर ९ गते मनोनयन दर्ता, सोही दिन प्रारम्भिक नामावली प्रकाशन हुनेछ । त्यसै गरि मङ्सिर १० गते उम्मेदवारमाथि दाबी–विरोध र छानबिन हुनेछ । मङ्सिर ११ गते अन्तिम नामावली प्रकाशित गरिने छ भने मङ्सिर १३ गते बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।
निर्वाचन कमिटी अध्यक्ष पथिकका अनुसार मतदाताहरूको नामावली पार्टी केन्द्रीय कार्यालयबाट प्रमाणित भएर जिल्ला पार्टी कार्यालयमा आइसकेकोले पार्टी कार्यालयमा नामावली प्रकाशित गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिकामा सामान्य हेरफेर गर्न सक्ने अध्यक्ष पथिकले जानकारी दिए ।
