रामेछापको मन्थली नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु बहादुर अधिकारीले भौगोलिक अवस्थाका कारण विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय मर्ज गर्दा समस्या आएको बताएका छन् । सेवा क्षेत्रका १ जना पनि विद्यार्थी अध्ययन गर्न छुटे सरकारको अनिवार्य शिक्षाको नीतिमा असर पर्ने उनको अनुभव छ । तल्लो कक्षाका लागि टाढा विद्यार्थी पठाउनु भन्दा निश्चित कक्षा सम्म गाउँमै र माथिल्लो कक्षा अध्ययनका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा उनको जोड छ ।
मन्थली नगरपालिका भित्र शिक्षाको अवस्था, चुनौती र सुधारका पहलबारे शाखा प्रमुख अधिकारीसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश…
मन्थली नगरपालिकाको शिक्षा शाखाले कस्ता कामलाई प्राथमिकतामा राखेर काम गरी रहेको छ ?
मन्थली नगरपालिकाको शिक्षा शाखाले नगर सभाबाट पारित भएका नीति तथा कार्यक्रम र सङ्घीय सरकारबाट प्राप्त भएका कार्यक्रमहरू सञ्चालन गरी रहेको छ ।
नगरपालिका भित्र सञ्चालन भएका विद्यालयको अवस्था कस्तो छ ?
मन्थली नगरपालिका भित्र हाल ६३ वटा सामुदायिक¸ ६ वटा निजी विद्यालय गरी ६९ वटा विद्यालय सञ्चालनमा रहेका छन् । नगरपालिकाले केही समय अघि बालमैत्री स्थानीय शासन लागु गरेकाले सबै विद्यालय बाल मैत्री विद्यालयका रूपमा सञ्चालनमा छन् । कुनै कुनै विद्यालयले आवश्यक सूचक पुरा नगरेको अवस्था पनि छ । त्यस्ता विद्यालयको सूचक पुरा गर्न सहयोग र अनुगमन गरिरहेका छौँ । यसलाई पनि आगामी दिनमा सुधार गरेर लैजाने योजना बनाएका छौ ।
बाल मैत्री स्थानीय शासन लागु गर्ने क्रममा निजी विद्यालयले अटेर गरेको भन्ने गुनासो पनि छ नि ।
निजी विद्यालय अनुगमनका लागि भिन्न संयन्त्र रहेको छ । संयन्त्र हुँदा पनि कानुनी अड्चनले नियमन गर्न असहज भएको छ । बाल मैत्री स्थानीय शासन लागुका लागि पुरा गर्नु पर्ने आवश्यक सूचक मध्ये केही सूचक गर्न नसक्नु भएको हो । निजी विद्यालयहरू सेवा मूलक सहित नाफा मूलक पनि भएकाले भवन लगायतका सूचक बाल मैत्री बनाउन नसक्नु भएको हो ।
निजी विद्यालयहरूले प्रदान गर्ने छात्रवृत्ति पारदर्शी नभएको गुनासो छ नि ।
केही विद्यालय बाहेक सबैले छात्रवृत्तिको विवरण समयमै पठाउनु भएको छ । तर नगरपालिकालाई बिद्यार्थीहरुको आर्थिक अवस्था जानकारी नभएको अवस्था छ । अब यसका लागि आगामी दिनमा छात्रवृत्ति पाउने विद्यार्थी विवरण¸ छात्रवृत्ति वितरणका मापदण्डहरू पनि हेर्ने र अनुगमन गर्ने लक्ष्य राखेका छौ ।
मन्थली नगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र विद्यालयको अवस्था कस्तो रहेको छ ?
अहिलेको अवस्थामा विद्यार्थी न्यून भएका सामुदायिक विद्यालय धेरै रहेका छन् । मन्थली नगरपालिका भित्र पनि विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको सङ्ख्या १०/१२ को हाराहारीमा होला । त्यसमा पनि २० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरू पनि रहेका छन् । शिक्षामा नागरिकको पहुँच रहोस् भने कतिपय अवस्थामा त्यस्ता विद्यालयहरू पनि सञ्चालन गरी रहेका छन्¸ बचाई राख्नु अवस्था पनि छ ।
शैक्षिक गुणस्तरको कुरा गर्दा¸ गत वर्षको एसइई र आधारभूत तहको रिजल्ट हेर्दा सन्तोष जनक रहेका छ । हाम्रो नगरका विद्यार्थीको औषध ३ जिपिए रहेको छ । ५ वटा सामुदायिक विद्यालयले शतप्रतिशत रिजल्ट ल्याएका छन् ।
विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयहरू मर्ज गर्ने नीति वैज्ञानिक नभएको हो ?
भौगोलिक अवस्थाका कारण विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय मर्ज गर्दा समस्या आएको छ । सेवा क्षेत्रका १ जना पनि विद्यार्थी अध्ययन गर्न छुटे सरकारको अनिवार्य शिक्षाको नीतिमा असर पर्ने छ । तल्लो कक्षाका लागि टाढा विद्यार्थी पठाउनु भन्दा निश्चित कक्षा सम्म गाउँमै र माथिल्लो कक्षा अध्ययनका लागि स्थानीय सरकारले पहल गर्नु पर्छ भन्ने हो । अब हाम्रो नगरपालिकामा २० जना भन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको सङ्ख्या १० जति छ । उनीहरूलाई कसरी टिकाउने र बचाउने भन्ने छलफलमै हामी छौँ ।
शिक्षा क्षेत्रको मन्थली नगर पालिकाले के कस्तो सुधार गरेको छ ?
मन्थली नगरपालिका बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरेको छ । त्यसको पूर्व नै सूचक अनुसार संरचना निर्माण लगायतका कार्य गरिएको छ । त्यो बाहेक शैक्षिक गुणस्तरमा वृद्धि भएको छ । पुस्तकालय र प्रयोगशाला सुधार गरिएको छ । विद्यालयमा घेरा बार गरिएको छ । विद्यालयमा छात्रछात्राका लागि भिन्न भिन्न शौचालय निर्माण बनाइएको छ । भने तल्ला तहका कक्षाहरूमा संरचना र शैक्षिक गुणस्तरका हिसाबले पहिले भन्दा धेरै सुधार गरिएको छ ।
मन्थली नगरपालिकाको योग्यता आधारमा प्रधानाध्यापक नियुक्ति गर्ने नीति असफल भएको हो ?
हामीलाई पनि त्यस्तै अनुभव भएको छ । नगरपालिकाले आफैले कार्यविधि बनाएर खुल्ला प्रतिस्पर्धाद्वारा प्रधानाध्यापक नियुक्ति गरेको थियो । तह अनुसार नै योग्य व्यक्तिलाई प्रधानाध्यापक नियुक्ति गर्ने भनेर हामीले करिब ४२ वटा विद्यालयमा प्रअ नियुक्ति गरेका थियौँ । बाकी विद्यालयको लागि पनि प्रअ सूचना आह्वान गरेकोमा पर्याप्त मात्रामा आवेदन परेन । नेपाल सरकारले पनि यसका लागि चाडै कार्यविधि ल्याउँदै छ । यसलाई पनि टेकेर पुनः यो कामलाई निरन्तरता दिन्छौँ ।
यहाँहरूले शिक्षक प्रशिक्षण¸ निरीक्षण र मूल्याङ्कनमा कस्ता कस्ता प्रणाली लागु गर्नु भएको छ ?
यसका लागि हामीले अहिले सम्म परम्परागत प्रणाली मार्फत नै प्रशिक्षण¸ अनुगमन र मूल्याङ्कन गदै आएका छौँ । यस प्रणालीले कक्षाकोठामा खासै सुधार नभएको हाम्रो अनुभव छ । यसका लागि पर्याप्त जनशक्ति लगायत प्राविधिक निरीक्षण गर्ने जनशक्तिको पनि अभाव छ ।
मन्थली नगरपालिकाका विद्यालयमा आइसिटिएको अवस्था कस्तो छ ?
मन्थली नगरपालिकाले ६३ वटा विद्यालयमा इन्टरनेट पुर्याएको छ । ती मध्ये १० वटा जति माध्यमिक विद्यालयमा पूर्ण रूपमा आइसिटिए सञ्चालन भएका छन् । बाकी विद्यालयहरूमा चाहाना हुँदाहुँदै पनि आइसिटिए पुनःरुपमा सञ्चालन हुन सकेका छैन । हामीले मन्थली नगरका विद्यालयलाई पुर्णरुपमा पेपर लेस बनाउने भनेका थियौँ तर आइसिटिएका अभावले त्यो सम्भव भएन । तर केही विद्यालयमा शिक्षक उपस्थिति नभएको अवस्थामा पनि आइसिटिएका माध्यमबाट कक्षा सञ्चालन हुने गरेका छन् ।
गरिब¸दलित र अभिभावक विहीन बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्न यहाँहरूले के कस्ता पहल गर्नु भएको छ ?
अभिभावक विहीन बालबालिकाको लागि प्रदेश सरकारले अनुदान प्रदान गरेको छ¸ त्यसको प्रयोग गरेका छौ । वैदेशिक रोजगारीमा गएर अभिभावक गुमाएका बालबालिकाको हकमा पनि वैदेशिक रोजगार विभागले छात्रा वृद्धि प्रदान गरेका छौँ । अन्य दलित¸ अपाङ्गता र विपन्न नागरिकका बालबालिकाको लागि पनि विभिन्न सङ्घ संस्थाले सहयोग गर्नु भएको छ ।