स्वच्छ निर्वाचन भए एमालेले सबै दललाई धुलो चटाउँछ : अध्यक्ष ढुंगेल

  • प्रकाशित मिति: शनिबार, कार्तिक २९ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलले असंवैधानिक रूपमा विघटन गरिएको संसद्लाई एमालेले पुनः स्थापना गराएरै छाड्ने दाबी गरेका छन्।

शनिवार मन्थलीमा आयोजित एमाले रामेछापको जनसभामा बोल्दै उनले जुनसुकै परिस्थितिमा पनि प्रतिनिधि सभा पुनः स्थापनाका लागि एमाले अन्तिम क्षणसम्म लड्ने बताए।



उनले भने, “संसद् पुनः स्थापना गरेर केपी शर्मा ओलीलाई ७ दिन या एक महिना फेरि प्रधानमन्त्री बनाउँछौँ। मुलुकको लोकतन्त्र र संविधानलाई बलियो बनाउने जिम्मा एमालेले छ, यसमा कुनै कसर बाँकी राख्दैनौँ।”

आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने एमालेको विशाल प्रदर्शनमा सहभागी हुन उनले कार्यकर्ता र जनतासँग आह्वान गरे। उनले एमाले सङ्कट र दुःखका समयमा जनताको घाउमा मलहम लगाइने पार्टी भएको दाबी गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्ने एक मात्र राजनीतिक शक्ति एमाले नै रहेको उल्लेख गरे।

स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनेमा एमालेले अरू सबै दललाई धुलो चटाउने पनि उनले स्पष्ट पारे। गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनलाई लक्षित गर्दे ढुंगेलले विदेशीको बुई चढेर आन्दोलन गर्न खोज्नेहरूलाई सचेत रहन चेतावनी दिए। उनले भने, “लालमोहर चखाएर सिंहदरबार जलाए जस्तो होइन, एमालेसँग लडाइँ सजिलो हुँदैन।”

मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, नुवाकोटलगायत जिल्लामा एमाले नेताको घर जलाइए पनि संगठन कमजोर नभएको उनको भनाइ थियो। तर रामेछापमा भने एमालेकै जेनजी कार्यकर्ताले नेतृत्व गरेकाले कुनै अप्रिय घटना हुन नपाएको उनले बताए। ढुंगेलले एमालेलाई सकियो भन्नेहरूलाई चुनौती दिँदै अगामी निर्वाचनमा दोब्बर मत ल्याएर देखाउने घोषणा पनि गरे।