संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनको माग सहित एमाले रामेछापले मन्थलीमा जनप्रदर्शन गर्दै

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २८ २०८२
  • तामाकोशी

 

रामेछाप नेकपा एमाले रामेछापले संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका माग सहित शनिवार मन्थलीमा वृहत् जनप्रदर्शन तथा जनसभा गर्ने भएको छ।



शुक्रवार बिहान मन्थलीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले रामेछापले कार्यक्रमका सबै तयारी पूरा भएको जनाएको हो।

एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार, जिल्लाका ८ पालिका कमिटी, ६४ वडा कमिटी र जनसंगठनहरूबाट गरी २ हजारभन्दा बढी कार्यकर्ता कार्यक्रममा सहभागी हुनेछन्। उनका अनुसार प्रदर्शन असंवैधानिक र प्रतिगामी कदमहरू चालिरहेको वर्तमान सरकारविरुद्ध केन्द्रित हुनेछ।

कडरियाले कथित छानबिन आयोग खारेजी, निष्पक्ष आयोग गठन, नवयुवाहरूका समस्यामा सम्बोधन, र संसद् पुन स्थापना प्रमुख एजेन्डा रहेको बताए। उनले भने, “जेनजी पुस्ताको आन्दोलनको नाममा भइरहेको तोडफोड र आगजनीविरुद्ध एमाले स्पष्ट छ। शान्ति–सुरक्षा, सुशासन र पारदर्शितामा हाम्रो स्पष्ट प्रतिबद्धता छ।”

पत्रकार सम्मेलनमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईँले देशभर एमालेले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनका अनुसार, संसद् पुन स्थापना बिना देश अराजकता र अस्थिरतामा फस्ने जोखिम बढ्दै गएको छ।

चौलागाईँले सरकारलगायत सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै भने,“सुरक्षाकर्मीका हतियार लुटिएका छन्, विभिन्न अपराधमा संलग्नहरू जेलबाट बाहिर छन्। यस्तो अवस्थामा निर्वाचन हुन्छ भनेर कसरी विश्वास गर्ने? सरकार आगजनी र तोडफोडमा संलग्नलाई बचाउन तल्लीन छ।”

उनले थपे, “एमाले न त निर्वाचनको विरोध गर्छ, न बहिष्कार गर्छ। हामीले बनाएको संविधानलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ। संसद् पुन स्थापना गरेर मात्रै देश शान्तिपूर्ण निर्वाचनमा जान सक्छ।” एमालेका अनुसार, मन्थलीमा हुने आजको प्रदर्शनले संसद् पुन स्थापना र राजनीतिक स्थिरताको लागि सशक्त दबाब सिर्जना गर्नेछ।