रामेछाप । नेकपा एमाले रामेछापले कार्तिक २९ गते मन्थलीमा हुने जनप्रदर्शनलाई तीव्रता दिएको छ। बुधवार मन्थलीमा बसेको तयारी बैठकले जनप्रदर्शनलाई ऐतिहासिक बनाउन संगठन, जनसंगठन र कार्यकर्ताहरूलाई पूर्ण सक्रिय हुन निर्देशन दिएको छ।
बैठकमा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पार्टीका वडा स्तरका कमिटीहरू सशक्त रूपमा सक्रिय हुनुपर्नेमा जोड दिए। उनले मन्थलीमा दुई हजारभन्दा बढी नेता–कार्यकर्ता र समर्थकको सहभागिता हुने जनप्रदर्शनका लागि तयारी तीव्र पारिएको बताए।
कडरियाका अनुसार सहभागीहरू पार्टी कार्यालयमा भेला भई मदन–आश्रित चोक हुँदै देवकोटा चोकसम्म र्यालीका साथ अघि बढ्नेछन् र त्यहीँ विशेष सभा आयोजना गरिनेछ। उनले र्यालीलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै र्यालीअघि आकर्षक मोटरसाइकल र्यालीसमेत सञ्चालन गरिने जानकारी दिए।
जनप्रदर्शन व्यवस्थापनका लागि ५० जना भन्दा बढी स्वयंसेवक परिचालन गरिने उनले जानकारी दिए। साथै, प्रचार–प्रसारका कामलाई व्यापक बनाउने तयारी भइरहेको पनि उनले बताए।
उनका अनुसार खाँडादेवी, मन्थली र लिखुतामाकोशी गाउँपालिकाबाट ठुलो सङ्ख्यामा सहभागी हुनेछन् भने अन्य पालिकाबाट पनि अगुवा नेता र कार्यकर्ताहरूको सहभागिता रहनेछ। जनप्रदर्शनलाई सफल बनाउन सबै जनसंगठनहरू सक्रिय रूपमा लागेको उनले बताए।
बैठकमा सहभागी पालिका कमिटी अध्यक्षहरूले आफ्नो–आफ्नो क्षेत्रमा भइरहेको तयारीबारे विस्तृत जानकारी गराएका थिए। उक्त बैठकमा पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईँ, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेश कमिटी सदस्य शान्ति प्रसाद पौडेल, प्रदेश सांसद तथा सदस्य आनन्द कुमार श्रेष्ठ, मायाकुमारी कार्की, रत्न गौतम, प्रेमबहादुर तामाङ लगायतका नेताहरूले जनप्रदर्शनलाई रामेछापको राजनीतिक शानको रूपमा स्थापित गर्न सबै तहका कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए। नेताहरूले जनताको समर्थन र संगठनको शक्ति प्रदर्शनका माध्यमबाट संविधान र जनताप्रतिको प्रतिबद्धता सुदृढ पार्नुपर्ने पनि बताए।
