रामेछापमा उच्च सतर्कता, विपद् समितिको निर्णय सार्वजनिक

  • प्रकाशित मिति: आइतबार, असोज १९ २०८२
  • तामाकोशी

रामेछाप निरन्तर भइरहेको अविरल वर्षाका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति, रामेछापले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा बसेको समितिको बैठकले वर्षाबाट प्रभावित अवस्थाको मूल्याङ्कन गर्दै तत्कालका लागि सात वटा महत्त्वपूर्ण निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

उनका अनुसार बैठकले असोज १७ गतेदेखि निरन्तर वर्षा जारी रहेको अवस्थामा अत्यावश्यकबाहेक अन्य कारणका लागि टाढाको यात्रामा ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ। अविरल वर्षाका कारण मन्थली–काठमाडौँ जोड्ने बी.पी. राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले यात्रु आवागमन सहज बनाउन मन्थली–काठमाडौँ हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ।



त्यसै गरी मन्थली–सिन्धुली जोड्ने खुर्कोटको पुलमा निगरानी बढाउँदै एक पटकमा एक मात्र सवारी साधन पास हुने व्यवस्था मिलाउने तयारी गरिएको छ। निरन्तर वर्षाका कारण मुख्य तथा सहायक सडक मार्गहरू अवरुद्ध हुन सक्ने भएकाले स्थानीय तह, सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, टिपर, ट्र्याक्टरजस्ता उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

बैठकले वर्षासँगै आकाशमा बिजुली चम्किने र गड्याङगुडुङ हुने अवस्था देखिएको हुँदा त्यस्तो बेला घर बाहिर ननिस्किन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, विपद् जोखिम घटाउन र सम्भावित क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम तथा गैरसरकारी संस्थाहरूलाई आफ्नो क्षेत्रबाट सक्रिय भई समन्वयात्मक रूपमा कार्य गर्न आह्वान गरिएको छ। बैठकले जिल्लामा निरन्तर वर्षा जारी रहेकाले पूर्व तयारी, उद्धार, राहत र पुनर्लाभका कार्यमा तत्काल सक्रियता बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ।