पर्यटकीय गन्तव्य बन्दै खाँडादेवीको गोगनपानी गुम्बा डाँडा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको गोगनपानी गुम्बा डाँडा जिल्लाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने गोगनपानी पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

गोगनपानी डाँडामा निर्माण गरिएको गुम्बा र दृश्य अवलोकनका लागि आउने आन्तरिक पर्यटक बढेको खाँडादेवी गाउँपालिका–५ का वडा अध्यक्ष मनोज पौडेलले बताउनुभयो ।



सदरमुकाम मन्थली–खाँडादेवी–सित्खा–काठमाडौँ सडकबाट नजिकै रहेको गोगनपानी डाँडामा फोटो खिच्ने, टिकटक बनाउने मानिसहरू आउने गरेका छन् । यो डाँडाबाट सिङ्गो खाँडादेवी गाउँपालिका र छिमेकी गाउँपालिकाको दृश्यावलोकन गर्न सकिन्छ ।

आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेपछि स्थानीय सरकार तथा समाजसेवी विभिन्न व्यक्तिहरूको सहयोगमा गोगनपानी डाँडामा विभिन्न संरचनाहरू निर्माण गरिएको छ ।
सदरमुकाम मन्थलीबाट आधा घण्टा पक्की सडकको यात्रापछि पुगिने यो ठाउँमा परिवार नै घुम्न आउनेको सङ्ख्या पनि बढेको वडा अध्यक्ष पौडेलको भनाइ छ ।