रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवामा ट्रक दुर्घटना, चालक गम्भीर

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको दलेचौरमा ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

गए राति दोलखाको मेलुङ गाउँपालिकाबाट रामेछापको दोरम्बा जाँदै गरेको बा ४ ख ७२२६ नम्बरको ट्रक सडकबाट करिब १८० मिटर तल खसेको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाका वडा सदस्य मङ्गले थामीले जानकारी दिनुभयो ।



गाडी चालक दोलखाको शैलुङ् गाउँपालिका ढुङ्गेका सुसन श्रेष्ठ गम्भीर रूपमा घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको वडा सदस्य थामीले बताउनुभयो ।

स्थानीयका अनुसार ब्रेक फेल भएर दुर्घटनामा परेको ट्रक पूर्ण रूपमा क्षति भएको छ । गम्भीर घाइते चालकको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यसअघि बिहीबार दिउँसो रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा शव पोस्टमार्टम गर्न काठमाडौँ लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको थिए ।