शैलुङमा नयाँवर्ष विशेष मेला, १० हजारले गरे अवलोकन भ्रमण

  • प्रकाशित मिति: सोमबार, बैशाख १ २०८२
  • तामाकोशी

रामेछाप । ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल शैलुङमा नयाँ वर्षमा ठुलो मेला लागेको छ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबार १० हजार बढीले शैलुङ मेलाको अवलोकन गरेका छन् ।
रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल शैलुङ नयाँ वर्ष २०८२ सालको मेला भव्य भएको स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो । यो नयाँ वर्षको शैलुङ मेलामा १० हजार भन्दा बढी मानिसले अवलोकन भ्रमण गरेको अनुमान गरिएको उहाँले बताउनुभयो ।
समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको शैलुङमा एक सय वटा फरक फरक आकृतिका थुम्का छन् । प्राकृतिक रूपमा बनेका सयौँ थुम्का, क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने र चौँरी चरेको दृश्यले शैलुङ्ग पुग्ने सबैको मन लोभ्याउँछ ।
अहिले लालिगँरास तथा चिमालको फुलले शैलुङ क्षेत्रको सौन्दर्य झनै बढाएको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको राम्रै उपस्थिति हुने गरेको स्थानीयको भनाइ छ ।
पछिल्ला केही वर्षदेखि शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शैलुङ गुम्बाका लामा गुरु पेमा होइसेर लामाले बताउनुभयो । एक सय वटा थुम्का भएको शैलुङलाई प्राचीन काल देखिनै धार्मिक एवं तीर्थ स्थल मानिए पनि विगत डेढ दशक अगाडीबाट बढी चर्चामा आएको उहाँले बताउनुभयो ।
शैलुङमा जनै पूर्णिमा, चैतको पूर्णिमा र नयाँ वर्षमा ठुलो मेला लाग्ने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार शैलुङ मेला भर्नका लागी रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका मानिस शैलुङ आउने गरेका छन् । त्यसै गरी राजधानी काठमाडौँबाट पनि धेरै मानिसहरू शैलुङ आउने गरेका छन् ।
विशेष गरी नयाँ वर्ष र जनै पूर्णिमा लाग्ने शैलुङ मेलाको १० हजार भन्दा बढीले अवलोकन भ्रमण गर्दै आएको उहाँले बताउनुभयो । महाभारत अन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा पछिल्लो समय पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।