रामेछाप । रामेछापमा चट्याङ्ग लागेर एकै घरका दुई जना घाइते भएका छन् । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ साल्मेका नन्दबहादुर थापा मगरको घरमा आइतबार दिउँसो चट्याङ पर्दा उहाँका १८ वर्षीय छोरा कुमार थापा मगर र ११ वर्षीय छोरी विनीता थापा मगर गम्भीर घाइते भएको सोही वडाका वडा अध्यक्ष सन्तलाल थापा मगरले जानकारी दिनुभयो ।
वडा अध्यक्ष मगरका अनुसार चट्याङमा परेका दाजु बहिनीको अनुहार बाहेक पुरै शरीरको भाग डढ्नुका साथै शरीरका विभिन्न भागमा चिरा चिरा परेको छ ।
घरको ढोका, बिजुलीको मिटर बक्स लगायतमा पनि क्षति पुगेको उहाँले बताउनुभयो । घाइते दुवै जनालाई स्थानीय टोकरपुर स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।