आज पनि खुलेन लुक्लाको मौसम

  • प्रकाशित मिति: शनिबार, चैत्र २२ २०८१
  • नवराज श्रेष्ठ

रामेछाप । बहीबार बिहानदेखि खराब भएको लुक्लाको मौसम शनिबारसम्म पनि खुलेको छैन । लुक्लाको मौसम नखुलेपछि रामेछापको मन्थलीमा रोकिएका पर्यटकहरू फाप्लु जान थालेका छन् ।

शनिवार पनि लुक्लाको मौसम नखुलेपछि बिहान साढे ९ बजेदेखि फाप्लु उडान भइरहेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो । लुक्लाको मौसम बिग्रिएपछि सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई शुक्रबार दिउँसोबाट विमानले फाप्लु र हेलिकोप्टरले लुक्ला लगिरहेको उहाँले बताउनुभयो ।



मौसम बिग्रिएपछि होल्ड भएका अधिकांश पर्यटक फाप्लु र लुक्ला पुगिसकेकाले शनिवार आएका थप २५० जना पर्यटक पनि फाप्लु जान थालेका उहाँले बताउनुभयो । लुक्ला पुग्ने पर्यटकहरूलाई पनि हेलिकोप्टर मार्फत पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । मन्थली विमान स्थलका अनुसार शुक्रवार २ सय ५० जना पर्यटक हेलिकोप्टर मार्फत लुक्ला र ११० जना पर्यटक विमान मार्फत फाप्लु पुगेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । मन्थली विमान स्थलका अनुसार बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटा भन्दा बढी उडानमार्फत ८५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।