रामेछाप । सोलुखुम्बुको लुक्लाको मौसम खराब हुँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय भन्दा बढी पर्यटकहरू फाप्लु र लुक्ला पुगेका छन् । बिहीबार बिहानदेखि लुक्लाको मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थलीमै रोकिएका थिए ।
शुक्रवार मध्यान्हबाट विमान कम्पनीहरूले मन्थलीमा रोकिएको पर्यटकहरूलाई फाप्लु र हेलिकोप्टरले लुक्ला लगेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।
शुक्रवार ७ वटा विमान उडान मार्फत ११० जना पर्यटक फाप्लु र ५० वटा हेलिकोप्टर उडान मार्फत २५० पर्यटक लुक्ला पुगेका उहाँले बताउनुभयो । उहाँका अनुसार बिहीबार मौसम बिग्रिएपछि हेलिकोप्टरमार्फत ४५ जना लुक्ला र ४७ जना पर्यटक फाप्लु लगिएको थियो ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले दुई सिजन चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटा भन्दा बढी उडानमार्फत ८५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।
