रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले पूर्व राजा ज्ञानेन्द्रको सबै सुविधा खोस्नुपर्ने बताउनुभएको छ । नेपाली जनताको रगत पसिना खाएर जनतालाई ज्युँदै जलाउन लगाउने पूर्व राजालाई अब सुविधा दिन नहुनेमा उहाँको जोड छ ।
आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेकपा एमाले रामेछापको चौथो विस्तारित बैठकलाई सम्बोधन अध्यक्ष ढुङ्गेलले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो“जनतालाई ज्युँदै जलाउने । जोगीको भेसमा रक्सी चोर्न जाने र चोर्न लगाउनेलाई जेल हाल्नुपर्छ । अब पूर्व राजालाई सुविधा दिएर राख्नु हुँदैन ।”
हिजो राजा र पञ्चायतको पालामा देशलाई अन्धकारमा राखिएको बताउँदै ढुङ्गेलले अहिले फेरी त्यही व्यवस्था चाहियो भनेर केही शक्तिहरू व्यक्तिका घरमा ढुङ्गा हान्दै र मान्छेलाई ज्युँदै जलाउँदै हिँडेका बताउनुभयो ।
अध्यक्ष ढुङ्गेलले गणतन्त्र आएपछि देशमा केही भएन भन्ने भ्रमलाई चिर्न आवश्यक रहेको बताउनुभयो । गणतन्त्र आएपछि बनेको सडक र पुल तरेर हिँड्ने, गणतन्त्र पछि भएका विकासको सेवा लिने तर गणतन्त्रले केही गरेन भन्नेलाई खुइल्याउन सक्नु पर्ने उहाँले बताउनुभयो ।
नेपालमा विकासका धेरै काम भए पनि त्यसलाई उपयोग गर्ने मानिसहरूको सङ्ख्या भने कम भएको ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो “देशमा विकास भएको छ । तर विदेश जाने रोगले हाम्रा युवालाई खाएको छ । युवा जति बिदेसिएकै कारण गाउँ घर खाली हुँदै गएको छ ।”
एमालेलाई कमजोर बनायो भने विकास, राष्ट्रिय स्वाभिमान र व्यवस्था कमजोर बनाउन सकिन्छ भनेर केही शक्तिलाई लागेका उहाँले बताउनुभयो ।
उनीहरूका विरुद्ध एमाले लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले प्रति देश र जनताले बोकेको विश्वासको दियो निभ्न दिनु नहुने बताउँदै ढुङ्गेलले यदि यो दियो निभ्यो भने देश नै समाप्त हुने बताउनुभयो । एमाले प्रति जनताको विश्वलाई जोगाएर पार्टीलाई अघि बढाउनु पर्ने उहाँको धारणा छ ।