६ दिनमा ६०० बढी पर्यटक मन्थलीबाट लुक्ला पुगे

  • प्रकाशित मिति: बुधबार, चैत्र ५ २०८१
  • तामाकोशी

रामेछाप । वसन्त ऋतु सिजनको नियमित उडान सुरु नहुँदै रामेछापको मन्थली विमान स्थलबाट ६०० भन्दा बढी पर्यटक सोलुखुम्बुको लुक्ला पुगेका छन् ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ ।
सोही अनुसार नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतको दोस्रो हप्तापछि जेठ महिनासम्म र (शरद ऋतु) को असोजदेखि मङ्सिर १५ सम्म नियमित उडान मार्फत मन्थली विमान स्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।
तर यो पटक विमान कम्पनीहरूले नियमित उडान सुरु नगर्दै ६०० भन्दा बढी पर्यटक मन्थली विमान स्थलबाट लुक्ला पुगिसकेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।
चैत महिना सुरु भएपछि मन्थली विमान स्थलबाट विमान र हेलिकप्टर गरी हालसम्म २०० भन्दा बढी उडान मार्फत ६०० बढी पर्यटक लुक्ला पुगेका उहाँले बताउनुभयो ।
यो वर्षको हिमाली आरोहणको मौसम सुरु भएपछि विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । अहिलेसम्म यो सिजनमा मन्थली–लुक्ला उडान सुरु नभए पनि काठमाडौँ–लुक्ला उडानमा मौसमको असरलाई ध्यानमा राखेर विगत एक हप्तादेखि पर्यटकहरूलाई मन्थली ल्याएर लुक्ला पु¥याउने गरिएको उहाँले बताउनुभयो ।
रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरेका छन् । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । सिजन सुरु भएपछि बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा दैनिक ६० वटा सम्म मन्थली– लुक्ला उडान मार्फत ८५० जना बढी पर्यटक लुक्ला पुग्ने गरेका छन् ।