रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आफूलाई पदको कुनै लोभ नभएको बनाउनुभएको छ । शुक्रवार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती (नेवा–ताम्सालिङ) प्रदेशको तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काम गर्ने मान्छे भएकाले उहाँलाई हटाउनु हुँदैन भन्दै आएको र यही कुरा भनेको आधारमा मन्त्री पदबाट हटाए पनि केही फरक नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो“मलाई भोलि नै मन्त्री पदबाट हटाए पनि मतलब छैन । मलाई पदको कुनै लोभ छैन । काम गर्ने मान्छे भए मलाई पुग्छ । कुलमान घिसिङ काम गर्ने कर्मचारी भएकोले उहाँको पक्षमा बोलको हुँ ।”
उहाँले कुलमानको पक्षमा आफूले बोलेको कुरा नलेखेको भन्दै पत्रकारहरूलाई पनि खै त तपाइहरूले समाचार लेखेको भन्दै प्रश्न गर्नुभयो । आफूले काम हुन्छ भन्ने लोभले कुलमानको विषयमा उहाँलाई निकाल्नु ठिक होइन भनेर बोलेको उहाँले बताउनुभयो ।
कुलमान घिसिङ कुन पार्टीको हो भन्ने आफूलाई थाहा नभए पनि उहाँ एउटा राम्रो काम गर्ने कर्मचारीका रूपमा आफूले चिनेको उहाँले बताउनुभयो । आफ्नो मन्त्रालयका सचिवले उहाँलाई स्पष्टीकरण सोधेको सोधै तर घिसिङ भने काम गरेको गरै अवस्थामा रहेको समेत उहाँले बताउनुभयो । घिसिङले मन्त्रालयका सचिवले सोधेको स्पष्टीकरणको जवाफ कामले दिइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समितिका अध्यक्ष गजुरधन राईले नेपालको पत्रकारिता क्षेत्रमा फोनिजको भूमिका बारे चर्चा गर्नुभयो । नेपालको पत्रकारिताको इतिहास देखिनै आदिवासी जनजाति पत्रकार पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहँदै आएको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सांसद एवं प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले राज्यका विभिन्न पुरातन वादी मान्यताहरू र त्यसलाई व्यवस्थापन गर्ने हाम्रो क्षमताका कारण सोचे अनुरूपका काम गर्न समस्या भएको बताउनुभयो । यही कुराहरूलाई ध्यानमा राखेर प्रदेश सरकारले प्रभावकारी योजनाका साथ काम अगाडी बढाउने उहाँको भनाइ छ । समाजमा खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा हामीले थुप्रै समस्याहरू खेप्नुपरिरहेको उहाँले बताउनुभयो । बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । अहिलेको पत्रकारिताको अवस्थालाई अझै उन्नत बनाउनका लागि फोनिजको भूमिका अझै सक्रिय हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता र ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को प्रमुख आतिथ्यतामा फोनिज बागमती प्रदेशको तेस्रो महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो। नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनको बन्द सत्र जारी छ । बन्दसत्र भोलि शनिवारसम्म चल्ने फोनिजको कार्यतालिका छ ।