रामेछाप । अनेरास्ववियु रामेछापले आयोजना गरेको अण्डर–१५ अखिल खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सिन्धुलीको नवबिहान युवा क्लब सुनकोशीले जितको छ । मन्थली स्थित मन्थली माविको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा रामेछापको खाँडादेवी गाउँपालिका टिमलाई हराउँदै सुनकोशीले उपाधि जितेको हो ।
जितसँगै सुनकोशीले २० हजार रुपैँया नगद पुरस्कारका साथै, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता खाँडादेवी गाउँपालिका टिमले नगद १० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
शुक्रबारबाट सुरु भएको खेलमा रामेछाप र सिन्धुली जिल्लाका १६ वटा टिमले भाग लिएका थिए । प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने मन्थली बोइज यूथ क्लब र न्युस्टार यूथ क्लब कुनौरीले नगद ५÷५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेल अवधिभरका उत्कृष्ट चार विधाका–उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई नगद १ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।
अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटी कोषाध्यक्ष सङ्गम अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय नेताहरू, जिल्ला तथा पालिका स्तरका नेताहरू, नेकपा एमालेका नेताहरू लगायतको सहभागिता रहेको थियो ।