दोरम्बा शैलुङ गाउँपालिका लेखर्क पहिरो पीडितलाई एमाले रामेछापले गर्‍यो आर्थिक सहयोग

  • प्रकाशित मिति: बिहिबार, भाद्र १३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखर्क स्थित पहरी गाउँका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ ।

एमाले रामेछापले बिहीबार पीडितहरू अस्थायी रूपमा बसोबास गरिरहेको ठाउँमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा परी ज्यान गुमाएकाको र बेपत्ता भएकाको परिवार र जोखिम रहेका परिवारलाई एमाले रामेछापले आर्थिक सहयोग गरेको छ ।



पहिरोमा परि ज्यान गुमाएका ७ जना र बेपत्ता भएका ३ गरी १० जनाको परिवारलाई एमाले रामेछाप जिल्ला कमिटी र काठमाडौँ सम्पर्क मञ्चको तर्फबाट जनही .२५ हजार रुपैयाँका दरले २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताउनुभयो ।
उहाँका अनुसार पहिरोले पूर्ण रूपमा घर क्षति भएका कर्ण बहादुर पहरीलाई २० हजार र पशुधन क्षति भएका गोमा पहरी र गङ्गा पहरीलाई प्रति परिवार १० हजार रुपैयाँका दरले २० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
एमाले बागमती प्रदेश कमिटी सदस्य रत्न प्रसाद गौतमले पहिरोबाट विस्थापित ५९ परिवारलाई प्रति परिवार ५ हजार ५०० रुपैयाँका दरले.३ लाख २४ हजार ५०० राहत रकम हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै एमाले दोरम्बा शैलुङ्ग गाउँपालिका कमिटी र दोरम्बा शैलुङ्ग गाउँपालिका सम्पर्क मञ्चको तर्फबाट विस्थापित ५९ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँका दरले एक लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
विपद्को यो घडीमा केही भने पनि पीडितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले एमाले रामेछापले बिहीबार सबै गरी.७ लाख ३२ हजार ५०० रुपैयाँ राहत रकम पीडितलाई हस्तान्तरण गरिएको एमाले रामेछापका अध्यक्ष कडरियाले बताउनुभयो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य तथा सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमल चौलागाई, प्रदेश कमिटी सदस्य रत्न प्रसाद गौतम, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया लगायत अन्य पदाधिकारी तथा नेता र एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चका नेताहरूको सहभागिता रहेको थियो ।
गत शनिवार रातिको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । पहिरोमा पुरिएका ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी, ११ वर्षका विज्ञान पहरी , ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको छ । अझै ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र पैताला मात्रै फेला परेको २३ वर्षकी बिन्दा पहरीको शरीरको अन्य भागको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।