रामेछाप । रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल थानापति महादेव मन्दिर परिसरमा यो वर्ष विभिन्न पूर्वाधारहरू निर्माण गरिएको छ । सडक सञ्जाल र अन्य पूर्वाधार निर्माण भएपछि विशेष पर्वहरूमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढ्दो मात्रामा छ ।
मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरा स्थित अग्लो पहाडको टुप्पोमा रहेको थानापति महादेव मन्दिर विकासका लागि मन्थली नगरपालिकाले नौ करोड ७० लाख लागत अनुमानको डिपिआर निर्माण गरेको छ ।
सोही डिपिआरलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०८०÷०८१ मा बागमती प्रदेश सरकारको ८ लाख र मन्थली नगरपालिकाको १५ लाख गरी २३ लाख रुपैयाँ बजेटबाट पूर्वाधार निर्माण भएको थानापति विकास समितिका सचिव विष्णुकुमार बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा थानापति महादेवलाई पुजिन्छ । यो मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो । यो वर्ष मन्थली नगरपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरको बायाँ तर्फ जाली भरेर वाल उठाएर ठाउँ फराकिलो बनाइएको छ ।’’
बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको ७ लाख ६९ हजार २३० रुपैयाँ र उपभोक्ता समितिको ८८ हजार ९७७ रुपैयाँ लागतमा मन्दिर नजिकै रहेको डाँडाको टुप्पोमा जाने सिमेन्टेड सिँढी तथा रेलिङ निर्माण भएको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार तीन सय वर्ष पुरानो इतिहास बोकेको थानापति महादेव मन्दिरमा हरितालिका तीज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । थानापति महादेवको मन्दिरमा रामेछाप लगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा सहित काठमाडौँ जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको बर पाइने विश्वास छ । वैरा तथा बुढा महादेवको नामले परिचित यस महादेव मन्दिरमा वर माग्दा ठुलो स्वरले माग्नु पर्ने जनविश्वास छ । महादेव मन्दिरमा बस्तु थारो बस्दा ब्याओस् भनेर माग्ने तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै बर माग्ने प्रचलन छ ।
मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि घेरा बार सहितको आकर्षक सिँढी निर्माण गरिएको छ । सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर थानापति महादेव मन्दिर पुग्न सकिन्छ । सडक सञ्जाल र अन्य पूर्वाधार निर्माणका कारण अहिले विशेष पर्वहरूमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढेको मन्थली नगरपालिका–९ पुरानागाउँका अध्यक्ष गोकर्णराज आरण बताउनहुन्छ । उहाँले भन्नुभयो‘‘ वडाको विशेष पहलमा मन्थली नगरपालिकाले गुरुयोजना नै बनाएर थानापति महादेव मन्दिर परिसरमा विभिन्न पूर्वाधार विकासको काम गरिरहेको छ । यो वर्ष बागमती प्रदेश सरकारको ८ लाख र मन्थली नगरपालिकाको १५ लाख रुपैयाँ बजेटबाट केही पूर्वाधार निर्माण गरिएको छ । अहिले वडा कार्यालय सहित मन्थली नगरपालिकाको सिङ्गो टिम नै कसरी हुन्छ थानापतिको वृहत् विकासमा लागि परेको छ ।’’
थानापति महादेव मन्दिरमा पूर्वाधार विकासका बनेको डिपिआर अनुसार चाँडो भन्दा चाँडो थानापति महादेवको मन्दिर आसपासमा पूर्वाधार विकास गर्ने विषयमा नगरपालिका प्रतिबद्ध भएर लागेको मन्थली नगरपालिकाका सब–इन्जिनियर कृष्णदास श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो‘‘ थानापति महादेव मन्दिरमा पूर्वाधार विकासका लागि नगरपालिकाले डिपिआर बनाएको छ । सोही अनुसार नगरपालिकाले सङ्घीय र प्रदेश सरकारसँग पनि बजेटका लागि पहल गरिरहेको छ । नगर आफैले पनि वार्षिक रूपमा धेर थोर बजेट विनियोजन गरी काम गरिरहेको छ । यो वर्ष नगरको १५ लाख रुपैयाँ बजेटबाट मन्दिरको बायाँ तर्फ जाली भरेर वाल उठाई फराकिलो बनाइएको छ ।’’
रामेछापको थानापति महादेव मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माण
- प्रकाशित मिति: आइतबार, असार १० २०८१
- तामाकोशी