बहुउपयोगी ड्रागन फल खेतीमा किसानको आकर्षण

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २० २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थली अपसासका किसानहरूको ड्रागन खेती तर्फ आकर्षण बढेको छ । तामाकोशी नदी नजिकै भए पनि सदरमुकाम मन्थली आसपास अति सुख्खा ग्रस्त ठाउँहरू छन् । सदरमुकाम आसपासका अधिकांश बस्तीहरूमा तामाकोशीको पानी लिफ्ट मार्फत तानेर खानेपानी सेवा पु¥याइएको छ । अति सुख्खा ग्रस्त भएकै कारण अन्य अन्न बालीको उत्पादन घट्दै जानु र गाउँघरमा युवा शक्ति कम हुँदा रामेछापका ग्रामीण क्षेत्र सहित सदरमुकाम नजिकैका ठाउँहरूमा समेत खेत बारी बाँझै बस्ने क्रम बढ्दो मात्रामा छ ।
केही वर्ष अघिसम्म बाँझै बसेका सदरमुकाम नजिकैका केही ठाउँहरूमा भने अहिले रहर लाग्दो रूपमा ड्रागन फल फुल्न थालेका छन् । यी ठाउँका किसानहरुको ड्रागन फल खेतीमा आकर्षण बढेको छ । सदरमुकाम नजिकै मन्थली नगरपालिका–१ सुकाजोर खोला बगरको सात रोपनी जमिनमा अहिले रहर लाग्दो ड्रागन फल फूलेका छन् ।
खोलाको बगरमाथि बाहिरबाट माटो लगेर महालक्ष्मी कृषि फार्मले दुई वर्ष अगाडीबाट ड्रागन फलको व्यवसायिक खेती सुरु गरेको हो । एक समयमा रामेछाप जिल्लाकै ब९ धान उत्पादन हुने सुकाजोर फाट बगरमा परिणत भएको लामो समयपछि हरियाली सहित ड्रागन फल फूलेको देख्नेहरू गरे के हुँदैन र भनिरहेका छन् ।
दुई वर्ष अघि दुई जनाले महालक्ष्मी कृषि फार्म दर्दा गरी सुकाजोर खोला बगरमा ड्रागन फलको खेती सुरु गरेका हुन् । अहिले सात रोपनी जमिनमा ६०० बोट ड्रागन रहेको महालक्ष्मी कृषि फार्मका सञ्चालक मध्येका एक सुदर्शन रायले बताउनुभयो । उहाँले भन्नुभयो “हामी जस्तोसुकै माटो र गर्मी ठाउँमा पनि खेती गर्न सकिने कृषि उपजको खोजीमा थियौँ। यसबारेमा कृषि प्राविधिकहरूसँग सल्लाह गर्दा सुकाजोरको बगरमा ड्रागन फल खेतीको सम्भावना देखियो । त्यसपछि सुकाजोर खोला बगरमा यसको खेती सुरु ग¥यौँ । सात रोपनी जमिन तयार गरेर आठ सय बिरुवा लगाएकोमा २०० बिरुवा मरे । अहिले ६०० वरुवा छन् । बिरुवा लगाएको दुई वर्षमा यसपालि फूलेका छन् ।”
अहिलेसम्म बिरुवाको वृद्धि विकास हेर्दा राम्रो देखिए पनि फल चाहिँ कस्तो हुन्छ भन्ने रहेको उहाँले बताउनुभयो । ड्रागन खेतीमा अहिलेसम्म नौ लाख रुपैयाँ बढी खर्च भएको र विगत एक वर्षा भन्दा बढी समयदेखि एक जनालाई रोजगारी प्रदान गरिएको सञ्चालक रायले बताउनुभयो ।
सदरमुकाम नजिकै पर्ने मन्थली नगरपालिका–५ सुनारपानीका सञ्जय साहीले पनि ड्रागन फलको खेती गर्नुभएको छ । काठमाडौंमा नर्सरी फार्म सञ्चालन गर्दै आउनुभएका साहीले अन्य खेती गर्न नसकेर बाझै बसेको तीन रोपनी जमिनमा विगत दुई वर्षदेखि ड्रागन फलको खेती गर्नुभएको छ । सहीले भदौरे कालीका कृषि तथा पशुपन्छी फार्म मार्फत ड्रागन फलको व्यावसायिक खेती गर्नुभएको हो । प्राविधिक शिक्षा अध्ययनका लागि विदेश जानुभएका सहीले पढाइपछि आफ्नै गाउँमा कृषि क्षेत्रमा केही गर्ने सोचका साथ ड्रागन खेती सुरु गरेको बताउनुभयो । ड्रागन फल खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रामेछापको पाँच लाख रुपैयाँ अनुदान सहयोग सहित कुल ७ लाख ७० हजार रुपैयाँ लगानीमा नर्सरी श्रोत केन्द्र तथा सुदृढीकरण निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “७ लाख ७० हजार रुपैयाँ लगानीमा नर्सरी श्रोत केन्द्र तथा सुदृढीकरण निर्माण गरिएको छ । मोटामोटी भन्दा ड्रागन फल खेतीमा १३ ला रुपैयाँ बढी लगानी भयो होला ।”