काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछानेले २०८० सालमा गृहमन्त्रीको हैसियतमा दिएको निर्देशनकै शैलीमा वर्तमान गृहमन्त्री सुदन गुरुङले प्रमुख जिल्ला अधिकारीहरूलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएका छन् ।
तीन वर्षअघि गृहमन्त्रीका हैसियतमा लामिछानेले खाद्य स्वच्छता कायम गर्नेदेखि सामाजिक सञ्जाल निगरानी गर्नेसम्मका २२ बुँदे निर्देशन दिएका थिए । लामिछानेले मन्त्रिस्तरीय निर्णय गरेर प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशनकै शैलीमा गृहमन्त्री गुरुङले पनि मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई खानाको गुणस्तरमा कडाइ गर्न निर्देशन दिँदै सबै जिल्लामा नियमित अनुगमन र तत्काल कारबाही गर्न आदेश दिएका छन् ।
होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र सरसफाइ कमजोर रहेको भन्दै व्यापक गुनासो आएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन, उपभोक्ता स्वास्थ्य सुरक्षा र प्रशासनिक जबाफदेहिता सुनिश्चित गर्न विशेष निर्देशन जारी गरेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको नाममा परिपत्र गर्दै नियमित तथा आकस्मिक अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खाद्यवस्तुको गुणस्तर र खाद्य स्वच्छता (हाइजिन) सम्बन्धमा नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न भनेको छ । अनुगमनलाई केवल औपचारिक प्रक्रियामा सीमित नराखी नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने वा प्रचलित कानुन उल्लंघन गर्ने पक्षमाथि हदैसम्मको कानुनी कारबाही गर्न पनि निर्देशन दिइएको छ ।
परिपत्रमा प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहजरूपमा गुनासो दर्ता गर्न सक्ने गरी ‘गुनासो सुनुवाइ संयन्त्र’ (हटलाइन वा दु्रत सेवा डेस्क) तत्काल स्थापना गर्न भनिएको छ । नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासालाई उच्च प्राथमिकतामा राखेर तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको छ ।
स्थानीय तहका सामान्य प्रकृतिका गुनासा र समस्यालाई सम्बन्धित प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा जिल्लास्तरमै समाधान गर्न मन्त्रालयले जोड दिएको छ । सानातिना विषयमा समेत नागरिकले केन्द्र वा मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै जिल्ला प्रशासनको प्रभावकारिता बढाउन मन्त्रालयले प्रत्यक्षरूपमा अनुगमन गर्ने जनाएको छ ।