अब शैलुङ भ्रमणमा प्रवेश शुल्क अनिवार्य; प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्ने

  • प्रकाशित मिति: बिहिबार, असार १८ २०८३
  • तामाकोशी

दोलखा । रामेछाप र दोलखाको सिमानामा अबस्थित चर्चित पर्यटकीय गन्तव्य शैलुङ भ्रमण गर्न चाहने पर्यटकले अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। शैलुङ गाउँपालिकाले आगामी साउन १ गतेदेखि लागू हुने गरी शैलुङ ग्रेटवाल तथा कालापानी नाकाबाट शैलुङ क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको हो।

गाउँपालिकाले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक ऐन–२०८३ बमोजिम शुल्क संकलन सुरु गरिनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेका अनुसार उठेको रकम शैलुङ ग्रेटवालको मर्मत, सरसफाइ, संरक्षण तथा समग्र व्यवस्थापनमा खर्च गरिनेछ।
नयाँ व्यवस्थाअनुसार शैलुङ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकाका स्थायी बासिन्दा तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका नागरिकलाई प्रवेश शुल्कमा पूर्ण छुट दिइनेछ। यस्तै, विद्यार्थी र ज्येष्ठ नागरिकले भने ५० प्रतिशत छुटसहित प्रवेश गर्न पाउनेछन्।



पर्यटकको रोजाइँमा पर्दै गएको शैलुङ ग्रेटवाल संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण गरिएको पूर्वाधार हो। करिब ५०० मिटर लामो उक्त ग्रेटवाल निर्माणका लागि संघीय सरकारले ३ करोड ५० लाख रुपैयाँ र शैलुङ गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए।
हिमशृङ्खलाको मनमोहक दृश्य, प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण शैलुङ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। गाउँपालिकाले प्रवेश शुल्कबाट संकलित रकम पर्यटकीय पूर्वाधारको संरक्षण, व्यवस्थापन र सेवा सुविधाको थप स्तरोन्नतिमा उपयोग गर्ने जनाएको छ।