किसान सचेतना कार्यक्रम बनाउन रामेछापका सरोकारवालको सुझाव

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाका सरोकारवालाहरूले किसान सचेतनामूलक कार्यक्रम बनाउन सुझाव दिएका छन् । बिहीबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित कृषि विकास कार्यालयको आगामी आर्थिक वर्ष२०८१÷०८२ को जिल्ला स्तरीय योजना तर्जुमा कार्यक्रमका सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । कृषि क्षेत्रमा पाउने अनुदान, कृषि तथा पशु वस्तु उत्पादनमा लाग्नु पूर्वको छनौट, उत्पादित उपजहरूको बजारमा माग र सम्भावना, कृषि क्षेत्रमा स्थानीय सरकारको बजेट र किसानलाई मोटिभेट गर्ने विषयहरु समावेश गरी किसान सचेतना कार्यक्रम बनाउन सहभागीहरूले सुझाव दिए ।
उनीहरूले कृषिमा प्रविधि हस्तान्तरणको नाममा वर्षे नि धेरै कृषि यन्त्र उपकरण वितरण भए पनि त्यसको सही प्रयोग हुन नसकेकाले यस्ता कार्यक्रमलाई घटाउनुपर्ने, किसान लक्षित बजेटलाई एकीकृत गरी ठुला सिँचाई आयोजनाहरू सञ्चालन गर्ने, कृषि उपजको निर्यात ढुवानीमा अनुदानको व्यवस्थापन गर्ने जस्ता कार्यक्रम बनाउन सुझाव दिए । त्यसै गरी कृषि यन्त्र उपकरण चलाउने कृषक बिमा अनि कृषकको लगानी र उत्पादनमा पनि बिमा, कृषि यन्त्र उपकरण मर्मत गर्ने वर्कसप सञ्चालन गर्ने जस्ता कार्यक्रम बनाउन पनि कृषि विकास कार्यालय रामेछापलाई सुझाव दिए । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको अध्यक्षता र रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास कार्यालय रामेछापका प्रमुख मीनबहादुर पुनले आगामी वर्ष सञ्चालन हुने प्रस्तावित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा रामेछापका ८ र दोलखाका नौ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि पुँजीगत तर्फ १३ लाख र चालु तर्फ पाँच करोड रुपैयाँ बजेट प्राप्त हुने बताउनुभयो । उहाँले यो बजेटबाट एक करोड रुपैयाँ बजेटको उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती प्रवर्द्धन कार्यक्रम, एक करोड २० लाख रुपैयाँ बजेटको साना सिँचाई कार्यक्रम, ४० लाख रुपैयाँ बजेटको फलफूल खेती प्रवर्द्धन कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो ।
त्यसै गरी ३० लाख रुपैयाँ बजेटको अलैँची तथा मसला बाली(अदुवा, बेसार, लसुन) प्रवर्द्धन कार्यक्रम र ३० लाख रुपैयाँ बजेटको मागमा आधारित उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको उहाँले बताउनुभयो । त्यस्तै १५ लाख रुपैयाँ बजेटको विभिन्न तालिम, अवलोकन भ्रमण, आकस्मिक बाली संरक्षण र स्थानीय तहका प्राविधिकहरूसँगको बैठक जस्ता २० वटा कार्यक्रमहरू प्रस्ताव गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले कृषि विकास कार्यालयले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार कार्यक्रमहरू बनाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले किसानहरू सरकार, व्यापारी, उद्योग, प्रकृति, जङ्गली जनावर जस्ता धेरै क्षेत्रबाट ठगिनु बाध्य रहेकाले यस्ता कुरालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । अझै पनि किसानका छोरा छोरी राज्यको नीति निर्माण तहमा पुग्न नसक्दा किसान लक्षित, नीति, कार्यक्रम र बजेट निर्माण हुन नसकेको उहाँको भनाइ छ ।