रामेछाप । नेकपा एमाले रामेछापको भावी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा बुधवारबाट जारी अधिवेशनमा रामेछापमा एमाले हाँक्न प्रेम बहादुर तामाङ र पुरुषोत्तम कडरियाको उम्मेदवारी परेको एमाले रामेछाप जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिनुभयो । तामाङ एमाले वाग्मती प्रदेश कमिटी सदस्य,पूर्व एमाले रामेछापका उपाध्यक्ष एवं पूर्व खाँडादेवी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । कडरिया एमाले रामेछापका जिल्ला कमिटी सचिव हुनुहुन्छ ।
यसअघि नेकपा एमाले रामेछापको अध्यक्षका लागि चार जनाको नाम चर्चामा आएको भए पनि अन्तिम समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको हो । एमाले बागमती प्रदेश कमिटी सदस्य प्रेम तामाङ र जिल्ला सचिव पुरुषोत्तम कँडेरियाको बलियो दाबेदार प्रस्तुत भएको छ । तामाङलाई पार्टीका केन्द्रीय नेताहरू कमल चौलागाईँ, माधव ढुङ्गेल र गीता कार्कीको समर्थन रहेको दुवै पक्षका नेता तथा कार्यकर्ताको भनाइ छ । तामाङ केन्द्रीय नेताको समर्थन लिएर अध्यक्ष बन्ने तयारी स्वरूप निर्वाचनमा होमिनुभएको छ । कँडेरियालाई भने एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलकै समर्थन रहेको कडरिया पक्षका नेता तथा कार्यकर्ताहरूको दाबी छ । यद्यपि, कैलाशले मुखै खोलेर सार्वजनिक रूपमा समर्थन जनाइ सक्नुभएको छैन । तर, उहाँले कँडेरियालाई नै भावी नेतृत्वका रूपमा मौन समर्थन जनाएको कडरिया पक्षका नेताहरूको भनाइ छ । रामेछाप एमालेमा मात्रै नभई आम जनता र कार्यकर्तामा लोकप्रिय छवि बनाएका रत्न गौतमले पनि कँडेरियालाई भावी अध्यक्षका रूपमा समर्थन जनाउनुभएको छ ।
जिल्ला कमिटीको उपाध्यक्षमा चार जना, सचिवमा दुई जना र उपसचिवमा महिला चार सहित ९ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा होतराज ढकाल, ध्रुव कार्की, रमेश कुमार वाग्ले र ज्ञान बहादुर खड्काको उम्मेदवारी परेको छ । त्यसै गरी सचिवमा रामबाबु घिमिरे र प्रकाश कुमार कार्कीको उम्मेदवारी परेको छ भने पदाधिकारीमा सबैभन्दा बढी दुई उपसचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ । मखमली श्रेष्ठ, मञ्जु माया कार्की, अनिता तामाङ राई र कमला शर्मा क्षत्री गरी चार जनाले महिला उपसचिवमा उम्मेदवारी दिनुभएको छ । त्यसै गरी दिनेश सुवेदी, मिलन कुमार घिसिङ, जय गुरुङ, राजेन्द्र कुमार कार्की र दीपक कार्कीले उपसचिवमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा एमाले रामेछापको जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकका अनुसार नवौँ जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ल कमिटी निर्वाचित गर्ने छ । उहाँका अनुसार खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र ४ जना खुला गरी ९ जना निर्वाचित हुने छन् । यसमा दलित तर्फ एक जना महिला, एक युवा, एक खुला गरी ३ जना, जनजातितर्फ एक महिला, एक युवा, एक खुला गरी तीन जना, अपाङ्ग एक जना, अल्पसङ्ख्यक एक महिला र एक खुला गरी दुई जना निर्वाचित हुनेछन् । भूगोलतर्फबाट ६६ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुने छन् ।
एमाले रामेछापको नवौँ अधिवेशनः अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उप–सचिवमा ९ जनाको उम्मेदवारी
- प्रकाशित मिति: बिहिबार, बैशाख २७ २०८१
- तामाकोशी