लेखबहादुर वि.क,
रामेछाप । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि इलेकट्रोनिक भोटिङ मेसिन (इभिएम)को प्रयोग हुने भएको छ । अधिवेशनमा मतदान भएको केही घण्टामै परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको र त्यसैअनुसार इभिएमको प्रयोग गर्न लागिएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो ।
नवौँ जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ल कमिटी निर्वाचित गर्ने नेकपा एमाले रामेछापको जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र ४ जना खुला गरी ९ जना निर्वाचित हुने छन् ।
एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन यही वैशाख २६ देखि २८ गतेसम्म सदरमुकाम मन्थली स्थित तीनलाल पर्यटकीय पार्कमा हुँदै छ । जिल्ला अधिवेशनको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने तयारी छ ।
नवौँ जिल्ला अधिवेशनमा भूगोल, विभाग र मनोनीत गरी ७०० जना प्रतिनिधिको सहभागी हुने सचिव कडरियाले बताउनुभयो । उहाँका अनुसार भूगोल र विभागबाट गरी ६६७ जना र ३३ जना मनोनीत प्रतिनिधिहरूले अधिवेशनमा भाग लिनेछन् ।
नवौँ जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ल कमिटी निर्वाचित गर्ने नेकपा एमाले रामेछापको जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र ४ जना खुला गरी ९ जना निर्वाचित हुने छन् ।
यसमा दलित तर्फ एक जना महिला, एक युवा, एक खुला गरी ३ जना, जनजातितर्फ एक महिला, एक युवा, एक खुला गरी तीन जना, अपाङ्ग एक जना, अल्पसङ्ख्यक एक महिला र एक खुला गरी दुई जना निर्वाचित हुनेछन् । भूगोलतर्फबाट ६६ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुने छन् ।
भूगोल तर्फ ६६ जना : कुन पालिकाबाट कति?
भूगोलतर्फबाट निर्वाचित हुने ६६ जना मध्ये उमाकुण्ड गाउँपालिकाबाट खुला ३, महिला २ र युवा १ गरी ६ जना, गोकुलगंगा गाउँपालिकाबाट खुला ३, महिला २, र युवा १ गरी ६ जना, लिखुतामाकोशी गाउँपालिकाबाट खुला ४, महिला ३ र युवा एक गरी ८ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनेछन् । त्यसै गरी रामेछाप नगरपालिकाबाट खुला ४, महिला २ र युवा एक गरी ७ जना, मन्थली नगरपालिकाबाट खुला ८, महिला ५, र युवा २ गरी १५ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनेछन् । त्यसै गरी खाँडादेवी गाउँपालिकाबाट खुला ६, महिला ३ र युवा २ गरी ११ जना, दोरम्बा शैलुङ गाउँपालिकाबाट खुला ४, महिला ३ र युवा एक गरी ८ जना र सुनापति गाउँपालिकाबाट खुला ३, महिला एक र युवा १ गरी ५ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुने एमाले रामेछापको जिल्ला निर्वाचन कमिटीकाअध्यक्ष नवराज पथिकले बताउनुभयो । उहाँका अनुसार भूगोलतर्फबाट निर्वाचित हुने ६६ जनामा खुला ३५, महिला २१, युवा १० जना र कम्तीमा पाँच जना उत्पीडित समुदायलाई अनिवार्य समेट्नुपर्ने व्यवस्था रहेको छ ।