रामेछाप । रामेछापको रामेछाप नगरपालिका–८ चौकीटारमा आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ भने एक जना महिला घरभित्रै परेको हुनसक्ने आशङ्का गरिएको छ । बिहीबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा खरको छाने भएको दुई वटा घर जलेर नष्ट भएको छ । सोही घरकी एक महिला पनि आगलागी भएको घरभित्रै परेको हुनसक्ने आशङ्का गरिएको भए पनि हो होइन यकिन नभएको रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘आगलागीबाट दुई वटा घर जलेको छ । घर भित्र ३२ वर्षकी एक जना महिला पनि रहेको भन्ने आशङ्का गरिएको छ । आगलागीले नष्ट भएको घरमा महिला रहेको भन्ने आशङ्कामा आगो निभाएर बिहीबार साँझ ७ बजेसम्म खोजियो । तर फेला परेन । अब भोलि बिहान खोज्ने भनेर प्रहरी लगायत उद्धार टोली घटना स्थलबाट फर्किएका छन्।’’
आगलागी भएको घरमा एक जना महिला परेको आशङ्का गरिएको भए पनि अहिलेसम्म पुष्टि हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘आगलागी भएको घरमा सोही घरकी ३२ वर्षकी महिला परेको भन्ने आशङ्का गरिएको छ । आशङ्का गरिएकी महिलाको आगो नियन्त्रणमा लिई खोजी कार्य जारी नै छ । तर अहिलेसम्म भेटिएको छैन । आशङ्का गरिएको महिला अन्त कतै नभेटिएको र कसैको सम्पर्कमा नआएकाले आगलागीमा परेको हुनसक्ने आशङ्का गरिएको छ ।’’ उहाँका अनुसार खरको छानो भएको दुई वटा घरमा आगलागी हुँदा पशु चौपायामा पनि ठुलो क्षति भएको छ । आगलागीबाट ४८ वटा बाख्रा र एक हल गोरु मरेको डिएसपी सिंहले बताउनुभयो । स्थानीयका अनुसार आगलागी भएको घरमा परेको भनी आशङ्का गरिएकी महिला अशक्त थिइन ।
रामेछाप नगरपालिका–८ चौकीटारमा आगलागीबाट दुई घर जल्यो, एक जना महिला पनि घरभित्रै परेको आशङ्का
- प्रकाशित मिति: बिहिबार, बैशाख २० २०८१
- तामाकोशी