रामेछाप । यही वैशाख २६ देखि २८ गतेसम्म नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन हुँदै छ । गत चैत २२ गते सम्पन्न भएको एमाले रामेछापको १० औँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको थियो । पार्टीको अधिवेशन नजिकिएसँगै एमालेको वडा कमिटीदेखि जिल्ला कमिटी तथा सबै जनवर्गिय सङ्गठनहरू पनि आआफ्नो तयारीमा जुटेका छन् ।
जिल्ला अधिवेशनको लागि वैशाख १५ गते भूगोलका सबै वडा र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट हुनेछन् । त्यस्तै जनसङ्गठनका प्रतिनिधि छनोट कार्य वैशाख १७ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने छ । जिल्ला अधिवेशन उद्घाटन वैशाख २६ गते मन्थली स्थित तीनलाल पार्कमा हुने एमाले रामेछापले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू र पालिका कमिटीका अध्यक्षहरू रहेको १५२ सदस्यीय ९ औँ जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । मूल व्यवस्थापन समितिको कामलाई थप व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरिएको छ । पार्टी अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा साङ्गठनिक, राजनैतिक प्रतिवेदन, प्रस्ताव मस्यौदा उपसमिति बनेको छ । त्यस्तै उपाध्यक्ष इन्द्रबहादुर तामाङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिव पुरुषोत्तम कडरियालाई दिइएको छ । प्रचार प्रसार उपसमितिको संयोजकको जिम्मेवारी उपसचिव प्रकाशकुमार कार्कीले पाउनुभएको छ । आवास एवम् खाद्य व्यवस्थापन उपसमितिको संयोजक अर्का उपसचिव होतराज ढकाल बन्दा आर्थिक प्रतिवेदन मस्यौदा उपसमितिको संयोजन वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख रामप्रसाद देवकोटाले पाउनुभएको छ ।
आर्थिक उपसमितिको संयोजक पार्टी अध्यक्ष आनन्द श्रेष्ठ आफैँ बन्नुभएको छ । जसका सदस्यमा जिल्ला कमिटी पदाधिकारीहरू र वित्त तथा कोष व्यवस्थापन विभाग रहेका छन् । मञ्च तथा हल व्यवस्थापन उपसमितिको जिम्मेवारी मिलन घिसिङ संयोजक रहेको उपसमितिले पाएको छ । स्वयंसेवक परिचालन उपसमिति संयोजकको जिम्मेवारी उज्ज्वल सुवेदीले पाउनुभएको छ । प्रतिनिधि छनौटका लागी वडा निर्वाचन क्षेत्र तोकिएको छ । वडागत आधारमा खुल्ला तर्फ हरेक वडाबाट एक महिला सहित तीन जना प्रतिनिधि निर्वाचित हुनेछन् । हरेक वडामा कायम रहेका पार्टी सदस्य सङ्ख्याको आधारमा २५ पार्टी सदस्य बराबर एक जना र शेष ५० वा सो भन्दा माथि थप एक जना निर्वाचित हुने मापदण्ड बनाइएको छ । उत्पीडित तर्फ प्रतिनिधि छनौटका लागी पालिका निर्वाचन क्षेत्र हुनेछ । १५ जना सदस्य बराबर एक प्रतिनिधि चयन हुनेछन् । शेष ५० वा सो भन्दा माथि थप एक जना निर्वाचित हुने व्यवस्था गरिएको छ । खुल्ला तथा उत्पीडित दुवैमा महिला प्रतिनिधि ३३ प्रतिशत अनिवार्य हुनु पर्नेछ । ४० वर्ष मुनीका युवाहरूलाई प्रतिनिधि छनौटमा विशेष प्राथमिकतामा राख्नु पर्ने छ । जिल्ला जनसङ्गठनबाट अनुसूची १ मा भएका १० जनसङ्गठनबाट एक महिला अनिवार्य हुने गरी तीन जना, अनुसूची २ मा भएका ११ जनसङ्गठनबाट खुल्ला दुई प्रतिनिधि वैशाख १७ गते बैठकबाट छनौट गर्नुपर्ने निर्णय भएको छ । नेकपा एमाले जिल्ला कमिटीका १६ विभाग कायम रहेकोमा हरेक विभागबाट एक–एक जना प्रतिनिधि छनौट हुनेछन् । जिल्ला कार्यालयबाट तीन जना र जिल्ला सल्लाहकार परिषद्बाट २५ जना सोही दिन प्रतिनिधि छनौट हुनेछन् । छनौट भएका कूल प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत मनोनीत हुनेछन् ।
जिल्ला अधिवेशन प्रतिनिधिको नामावली वैशाख २० गते भित्र अधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमितिले तयार गरेको प्रतिनिधि विवरण फारम भरि उपलब्ध गराउनु पर्नेछ । जिल्ला अधिवेशनमा प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टीको सदस्य भएर काम गरेको हुनुपर्नेछ । महिला, दलित र युवाको हकमा न्यूनतम एक वर्ष सदस्य भएर काम गरेको हुनुपर्नेछ । अन्य पार्टीबाट आएका हकमा पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन : वडा कमिटी देखि सबै जनवर्गिय सङ्गठनसम्म आआफ्नै तयारीमा
- प्रकाशित मिति: मंगलबार, बैशाख ११ २०८१
- तामाकोशी