बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

  • प्रकाशित मिति: आइतबार, चैत्र १८ २०८०
  • तामाकोशी

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सोमबार दिउँसो १ः०० बजे प्रदेश सभाको बैठक बस्नेगरी सभामुखले समय तोक्नुभएको जानकारी दिनुभयो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सोमबार लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गत शुक्रबार पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली काँग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको छ । गत फागुन २३ गते काँग्रेसका छ जना मन्त्रीले सरकारबाट सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानको धारा १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।