युवा संघ रामेछापको होली विशेष खुला दौड प्रतियोगिता : महिला तर्फ सविना थापा र पुरुष तर्फ अरुण खड्का पहिलो

  • प्रकाशित मिति: आइतबार, चैत्र ११ २०८०
  • तामाकोशी

रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापले होली विशेष खुला महिला तथा पुरुष दौड प्रतियोगिता आयोजना गरेको छ । युवा संघ नेपाल रामेछापले होली पर्व २०८० को अवसरमा आइतबार सदरमुकाम मन्थलीमा दौड प्रतियोगिता गरेको हो । प्रतियोगितामा मन्थली स्थित भैशेश्वर रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्म सहभागीहरू दौडिएका थिए । प्रतियोगितामा महिला तर्फ ७८ नम्बरका सहभागी सविना थापा पहिलो हुँदा पुरुष तर्फ ९ नम्बरका अरुण खड्का पहिलो भएका छन् । महिला तर्फ ४२ नम्बरकी सहभागी संगीता केसी दोस्रो र २७ नम्बरकी मनीषा कार्की तेस्रो भएकी छिन् । पुरुष तर्फ २० नम्बरका उत्तम माझी दोस्रो र ११ नम्बरका कौशल कार्की तेस्रो भएका छन् । प्रतियोगितामा महिला तथा पुरुष तर्फ सहभागी भई पहिलो, दोस्रो र तेस्रो हुने सहभागीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल पाएका छन् । खेल क्षेत्रमा युवाहरूको सक्रियता अझै बढाउनका लागि रङहरूको पर्व होलीका अवसरमा यो प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो ।