देश अति सङ्कटको मोडबाट गुज्रिएको छ : प्रदीप ज्ञवाली

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १२ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अति सङ्कटको मोडबाट गुज्रिएको बताउनुभएको छ । शनिबारबाट नेकपा एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले देशका सबै अवयव अहिले संकटमा परेका बताउनुभयो । अन्तराष्ट्रिय स्तरमा समेत देशका छवि अति कमजोर भएको उहाँले बताउनुभयो । विश्व समुदायले विश्वलाई पत्याउनै छाडेको ज्ञवालीको भनाइ छ । नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेका उहाँको भनाइ छ । सरकार स्वयम्ले तस्करी र भ्रष्टाचारको समानान्तर अर्थतन्त्र चलाएकोले देश ठुलो आर्थिक संकटमा परेको उहाँले टिप्पणी गर्नुभयो । प्रधानमन्त्री र सरकारका मन्त्रीले नै धार्मिक र सामाजिक सद्भाव भड्काउने प्रयत्न गरी रहेको ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्रीले जातीय राज्य दिने र संस्कृति मन्त्रीले हिन्दु र बौद्धिष्टलाई गाली गरेर कुनै एउटा धर्म विशेषलाई भड्काउने काम गर्नु त्यसको उदाहरण भएको उहाँले बताउनुभयो । नेकपा एमालेबाट निर्वाचनमा भाग लिन अब पार्टीको आधारभूत तालिम लिएकै हुनु पर्ने नीति पार्टीले लिएको उहाँले जानकारी दिनुभयो । राजनीतिक रूपमा तालिम प्राप्त पार्टी कार्यकर्ता नहुँदासम्म सुन्निएर मोटाएको जस्तो अवस्था बन्ने ज्ञवालीले प्रष्ट पार्नुभयो । पार्टीका नेता कार्यकर्तालाई राजनीतिक र बैचारिक रूपमा बलियो बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । विश्व परिस्थिति र राजनीतिक परिवर्तन थाहा पाउन निरन्तर अपडेट हुनु पर्ने उहाँले बताउनुभयो । समयमा अपडेट हुन सकिएन भने असान्दर्भिक हुने उहाँले बताउनुभयो ।