रामेछाप । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ ।
यही माघ १८, १९ र २० गते बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुने गोष्टीको प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने आयोजकले जनाएको छ ।
बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बर्द्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने हेतुले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको धर्मगुरु कोशिस लोब्साङ वाइबाले जानकारी दिए। गोष्ठीले नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्न तथा बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गर्न सहयोग गर्ने आयोजकको विश्वास छ ।
यसैगरी, गोष्ठीमा विशिष्ट धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका विद्वान्को सहभागिता रहने जनाईएको छ । केन्द्रले सुचना जारी गर्दै गोष्ठीमा सहभागी हुनका लागि नाम, ठेगाना र सम्पर्क नम्बरसहित दर्ता गराउन आयोजक समितिको कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।