रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भन्दै गाउँपालिकाले दिएको सार्वजनिक बिदा फिर्ता लिएको छ ।
सो गाउँपालिको नवनिर्मित कार्यपालिकाको प्रशासकीय भवन पुस १९ गते प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने भन्दै गाउँपालिकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले मंगलबार दिउँसो एक सूचना जारी गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैँक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको थियो । गाउँपालिकाको यो निर्णयपछि चौतर्फी विरोध भएको थियो । यसबारे जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले आफू सहभागी हुने कार्यक्रममा बिदा नदिन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।