प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न रामेछापको सुनापति गाउँपालिकामा सार्वजनिक बिदा

  • प्रकाशित मिति: मंगलबार, पुष १७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले बनाएको प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि गाउँपालिकामा सार्वजनिक बिदा दिइने भएको छ । गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन पुस १९ गते प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो दिन गाउँपालिकामा रहेका सबै कार्यालय बन्द गर्न गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । ‘गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैँक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले जारी गर्नुभएको सार्वजनिक सूचनामा उल्लेख छ । पाँचवटा वडा रहेको सो गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा चार जना वडाध्यक्ष सहित माओवादी केन्द्रले जितेको छ । एक जना वडाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ ।