नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको छ : केपी ओली

  • प्रकाशित मिति: मंगलबार, मंसिर २६ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको बताउनुभएको छ ।
सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले अथाह साथ, समर्थन र उत्साह पाएको बताउनुभयो । देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताउनुभयो । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताउनुभयो । यो देश बनाउन पर्छ भन्ने बुझेर नै जनताले एमालेको समृद्धिको लागि संकल्प यात्रामा साथ दिएको ओलीको भनाइ छ । देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिनुभयो । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गर्नुभयो । एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताउनुभयो । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उहाँले स्पष्ट पार्नुभयो । एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको ओलीले बताउनुभयो । सरकारले ल्याएको यो बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो । अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे ओलीले बताउनुभयो । सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । सकरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीले बताउनुभयो । अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउनुभयो । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएको उहाँले स्पष्ट पार्नुभयो ।