बाबु–आमा गुमाएपछि बिचल्लीमा परेका चार बालकलाई एमाले नेता रत्न गौतमद्वारा २७ हजार बढी सहयोग

  • प्रकाशित मिति: बुधबार, कार्तिक १ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका बाबु–आमा दुवै गुमाएका बालबालिकालाई एमाले नेता समाजसेवी रत्न गौतमले सहयोग गर्नुभएको छ । गौतमले प्रेस चौतारी नेपाल रामेछाप मार्फत बालकहरूलाई खाद्यान्न तथा नगद सहयोग गर्नुभएको हो । ती बालकहरूलाई नगद २५ हजार तथा खाद्यान्न सहित २७ हजार रुपैँया बराबर प्रेस चौतारी नेपाल रामेछाप मार्फत गौतमले सहयोग गर्नुभएको छ । सहयोग सामाग्री र रकम प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिक तथा रामेछाप जिल्ला अध्यक्ष नवराज श्रेष्ठले घरमा नै पुगेर हस्तान्तरण गर्नुभयो । सामाग्री हस्तान्तरण गर्दै पथिकले प्राप्त सहयोगलाई उचित ठाउँमा खर्च गर्न अनुरोध गर्नुभयो । स्थानीय समाजसेवी शंकर थापाको समन्वयमा उहाँहरूलाई सहयोग गरिएको हो । सहयोग रकम र सामाग्री हस्तान्तरण गर्न रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, प्रेस चौतारी रामेछापका सहसचिव शंकर बरुवाल, सदस्य नवराज बिक पनि उहाँहरूको घरमा पुग्नु भएको थियो । गत बडादशैँको नवमीको दिन आमा गुमाएका चार जना बालकले एक वर्ष नबित्दै पुनः बाबु पनि गुमाएका छन् । आर्थिक रूपले अति विपन्न परिवारका ती बालकहरूका बाबु बितेपछि स्थानीयले चन्दा उठाएर क्रिया कर्म गराएका छन् । सो खबर जानकारी पाएपछि गौतमले प्रेस चौतारी नेपाल रामेछापसँग समन्वय गरी आर्थिक सहयोग गर्नुभएको हो । आमा–बाबु गुमाएपछि भक्तबहादुर बसेल र गीता बसेलका छोराहरू १८ वर्षका लेखबहादुर बसेल, १६ वर्षका सञ्जीव बसेल, १२ वर्षका सरोज बसेल र आठ वर्षका सन्दीप बसेल बिचल्लीमा परेका छन् । चार भाइ मध्ये लेखबहादुर र सञ्जीवले बिचमा नै पढाइ छाड्नु भएको छ भने सरोज र सन्दिप पाँच र तीन कक्षमा पढ्दै हुनुहुन्छ । सोमबार बाबुको १० दिनको क्रिया सकेका उनीहरूलाई आर्थिक अभावको कारण क्रिया गर्न समेत समस्या भएको थियो । क्रियामा खर्च भएको रकम समेत तिर्न समस्या भएका उनीहरूलाई आर्थिक सहयोगले बाबुको क्रियाबाट उक्सन सहज भएको छ । आफूहरूले पढ्न नसकेको भए पनि पढिरहेका दुई भाइलाई पढाउने इच्छा जेठो दाजु लेखबहादुर बसेलको छ । उहाँहरूलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पनि घरमा नै गएर चामल, चिउरा, तेल, चिनी लगायतका खाद्यान्नका साथै ५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ । त्यस्तै स्थानीय समाजसेवी शंकर थापा, जगन्नाथ दाहाल लगायतले पनि उहाँहरूलाई सहयोग गर्नुभएको छ । स्थानीय युवा क्लबले पनि उहाँहरूलाई आर्थिक सहयोग गरेको छ ।