रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य देवशंकर पौडेलले नेपालको राजनीतिमा संस्कार हराएको बताउनुभएको छ । पार्टी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपाल रामेछापको पहिलो जिल्ला भेलालाई शनिवार मन्थलीमा सम्बोधन गर्ने नेता पौडेलले यस्तो बताउनुभएको हो । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला इन्चार्ज समेत रहनु भएका नेता पौडेलले संस्कार सहितको राजनीतिले शासन व्यवस्थालाई पद्धतिमा मात्र ल्याउने नभई सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्ने भए पनि नेपालको राजनीतिमा संस्कार भन्ने चिज हराएको बताउनुभयो । नेपालका राजनीतिक दलका नेताहरूमा एकले अर्कालाई आरोप प्रत्यारोप सहित मुख छाड्ने बानीको विकास हुँदा पछिल्लो समय राजनीतिमा इमानदारिता, नैतिकता र संस्कारको सङ्कट अझै तड्कारो बनिरहेको उहाँको भनाइ छ । अहिले समाज पनि राष्ट्रिय पुँजी विकासमा भन्दा पनि दलाल पुँजीपति तिर केन्द्रित हुँदा अहिले मूलक सङ्क्रमणकालीन अवस्थामा रहेको उहाँको भनाइ छ । आफू जहिले पनि नेपालको पत्रकारिता खोजमूलक र सृजनशील हुनुपर्छ भन्नेमा रहेकाले समाजवादी प्रेस सङ्गठन नेपाललाई पनि खोज पत्रकारिता र सृजनशील बन्न उहाँको आग्रह छ ।
राजनीतिमा इमानदारिता, नैतिकता र संस्कारको सङ्कट छ : देवशंकर पौडेल
- प्रकाशित मिति: शनिबार, साउन २० २०८०
- तामाकोशी