दोलखा । दोलखामा पछिल्लो बर्ष बलात्कारका घटना बढ्दै गएको छ । आफ्नै परिवारका सदस्य र नातेदारवाट किशोरी तथा महिलाहरु बलात्कारको शिकार भएका छन् । विगत तीन आर्थिक बर्षको तथ्यांकलाई हेर्दा जिल्लामा वर्षेनी बलात्कारका घटना बढ्दै गएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १७ वटा बलात्कारका घटना भएकोमा २०७८÷७९ मा १४ वटा घटना भएका थिए । यो तथ्यांक गत आर्थिक बर्ष २०७९÷८० मा करिव दोब्बरले बढेको छ । गत आर्थिक वर्ष दोलखामा २५ वटा बलात्कारका घटना भएका छन् भने ५ वटा जवरजस्तीकरणी उद्योगका घटना भएका छन् । गत वर्ष भएका घटनामा १० वर्षिया बालिकादेखि ६८ वर्षकी महिलासम्म बलात्कारको शिकार भएका छन् । बलात्कारको घटनामा १७ वर्षिय युवकदेखि ८१ वर्षका बृद्ध समेत संलग्न रहेको पाइएको छ । गत आर्थिक वर्ष १२ जना बालिकाबलात्कारको शिकार भएका छन् । १० देखि १८ वर्ष मुनिका बालिका र किशोरी आफ्नै परिवार र नातेदार तथा शिक्षकवाट बलात्कृत भएकाहुन् । बलात्कारको शिकार भएका बालिका र किशोरीमा शारीरीक र मानसिक रुपमा ठूलो असर परिरहेको परिवारजनले बताएका छन् । बलात्कारको शिकार हुने मध्ये १८ वर्षदेखि २५ वर्ष उमेर समुहका ५ जना, २६ देखि ३५ वर्षसम्मका ३ जना, ३६ देखि ४५ वर्ष उमेर समुहकादुई जना र ४६ देखि ६० वर्ष उमेर समुहका एक जना तथा ६० वर्ष माथिका दुई बृद्धा रहेका छन् । गतआर्थिक वर्ष भएका बलात्कारका अधिकांश घटनामा आफ्नै घरपरिवार र नातागोताको बढी संलग्नता देखिएको छ । ससुराले बुहारीलाई, काकाले भतिजिलाई, दाजुले बहिनीलाई, हजुरबुबाले नातिनीलाई, बुबाले छोरीलाई, भतिजले काकीलाई र ठूलोबुबाले छोरीलाई बलात्कार गरेका छन् । यस्तै आफ्नै छिमेकी, शिक्षक र साथीबाट महिला तथा बालिका बलात्कारको शिकार हुन पुगेका छन् । गतवर्ष भएका बलात्कारको घटनामा संलग्न २४ जना पक्राउ परिसकेका छन् भने एक जना फरार छन् । चेतनाको स्तर बृद्धि भएर बालिका वा महिलाले आफुमाथि बलात्कार गर्नेलाई कारवाहीको दायरामा ल्याउन घटना सार्वजनिक गर्न थालेसँगै जिल्लामा बलात्कारको घटना बढेको देखिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताउनुभयो ।
दोलखामा एक बर्षमा २५ वटा बलात्कारका घटना
- प्रकाशित मिति: सोमबार, साउन ८ २०८०
- तामाकोशी