रामेछाप । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल रामेछाप आउँदै हुनुहुन्छ । एमाले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा हुने ४५ औँ पुष्पलाल स्मृति दिवस विशेष कार्यक्रलाई सम्बोधन गर्न महासचिव पोखरेल रामेछाप आउन लाग्नुभएको हो । साउन ७ गते आइतबार नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको जन्मस्थल रामेछापमा स्मृति दिवस विशेष कार्यक्रम हुँदै छ । बिहान पुष्पलालको जन्मथलो रामेछाप नगरपालिका–८ भँगेरीमा पुष्प गुच्छा अर्पण, श्रद्धाञ्जली तथा चियापान लगायत संक्षिप्त कार्यक्रम हुनेछ । स्मृति दिवसको वृहत् कार्यक्रम भने सदरमुकाम मन्थली स्थित तीनलाल पर्यटकीय पार्कमा बिहान ११ बजेबाट सुरु हुनेछ। तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, सहिद गङ्गालाल र कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमामा माल्यार्पण गरेपछि औपचारिक कार्यक्रम सुरु गर्ने एमाले रामेछापले जनाएको छ । ४५ औँ पुष्पलालको स्मृति दिवस विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र प्रमुख अतिथि एमाले महासचिव शङ्कर पोखरेल शनिबार साँझ नै मन्थली आइपुग्ने एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा नेपाकाले कम्युनिस्ट आन्दोलनमा पुष्पलालको भूमिकाको विषयमा प्रवचनका साथै जिल्लामा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान पनि गरिनेछ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेल रामेछाप आउँदै
- प्रकाशित मिति: शनिबार, साउन ६ २०८०
- तामाकोशी