जिपी कोइराला फाउन्डेसन रामेछापले दही चिउरा खाएर धान दिवस मनायो

  • प्रकाशित मिति: शुक्रबार, असार १५ २०८०
  • तामाकोशी

रामेछाप । आज असार १५ गते, २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापले दही चिउरा खाने कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार मन्थलीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले गिरिजाप्रसाद कोइराला फाउन्डेसनले दही चिउरा खने कार्यक्रम किसानको खेतमै गएर मनाको भए अझै प्रभावकारी हुने बताउनुभयो । कार्कीले असारमा खेतीपाती नगरे वर्ष भरी के खाने ? तसर्थ किसानको मनोबललाई अझ दह्रो बनाउन यस्ता खाले कार्यक्रम किसान सँगै गएर सञ्चालन गर्नु उपयुक्त हुने बताउनुभयो । काँग्रेस रामेछापका सचिव तथा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापका अध्यक्ष दीपक खड्काले काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले राजनीतिमा हिलो छ्याप्न सुरु गरेको बताउनुभयो । पार्टी सभापति तामाङले आजको दिनबाटै रामेछापको राजनीतिमा हिलो छ्याप्न सुरु गरेको र हिलो छ्याप्ने काम गर्नु सोभनिय नभएको उहाँको भनाइ छ । कार्यक्रममा काँग्रेसका रामेछापका पूर्व उपसभापति ध्रुवहरि ढुङ्गेलले आफू मर्दा सम्पत्ति शून्य भएका गिरिजाप्रसाद कोइराला बाट राजनीतिक गर्नेहरूले धेरै पाठ सिक्न आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू,नागरिक समाजका अगुवाहरू, पत्रकारहरू साथै सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।