मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मन्थलीमा रक्तदान, २० जनाले रगत दिए

  • प्रकाशित मिति: बिहिबार, असार १४ २०८०
  • तामाकोशी

रामेछाप । जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार रामेछापको मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मदन भण्डारी फाउण्डेसन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र प्रेस चौतारी नेपाल रामेछापको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा २० जनाले रगत दिएका छन् । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको प्राविधिक सहयोगमा भएको हो । रक्तदानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिकले मदन भण्डारी कुनै एउटा दल विशेषको नेता नभएर जनताको बहुदलीय जनवादको प्रणेता, विचारक र दार्शनिक भएको बताउनुभयो । मदन भण्डारीको बिचार विश्वको लागि साझा सम्पत्ति भएको उहाँले बताउनुभयो । उहाँको जन्मजयन्तीको अवसरमा मानिसलाई जीवन दान गर्ने रक्तदान जस्तो पवित्र कार्य गरिएकोले सबैलाई रक्तदान गरेर पुण्य कमाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, लगायत जनप्रतिनिधि, एमाले वाग्मती प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ, जिल्ला कमिटी सचिव पुरुषोत्तम कँडरिया, उपसचिवहरू प्रकाशकुमार कार्की, होतराज ढकाल, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठ लगायत पत्रकारहरू, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेल, अनेरास्ववियका केन्द्रीय सदस्य टक घतानी, आङलामु शेर्पा, जिल्ला संयोजक मदन खड्का, सचिव पुष्कर भट्टराई लगायतका विद्यार्थी, नेपाल रेडक्रस सोसाइटी रामेछापमा सभापति शिवकुमार कार्की, मन्त्री दुर्गाबहादुर श्रेष्ठ लगायतका सहभागिता रहेको थियो । यस अघि बिहीबार बिहान मन्थलीको मदन आश्रित चोकमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण कार्यक्रम भएको थियो । पार्टी, विद्यार्थी संगठन तथा प्रेस चौतारीका नेताहरूले उहाँहरूको सालिकमा पुष्प गुच्छा चढाउनुभएको थियो । बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको २००९ साल असार १४ गते ताप्लेजुङको मैवाखोला–२ ठोट्नेमा जन्म भएको थियो । उहाँको २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गामा जिप दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । सो दुर्घटना अहिलेसम्म रहस्यमय छ ।