रामेछाप । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले देशभर आन्दोलन चर्काउने भएका छन् । सरकारले बजेट बक्तव्यमार्फत विना तयारी अतिरिक्त हुलाक खारेज गरेर आफुहरुलाई बेरोजगारी बनाउन खोजेको भन्दै देशभर चरणवद्धरुपमा आन्दोलन चर्काउने जनाएका छन् ।
जिवनको लामो वर्ष हुलाक सेवामा काम गरेर अहिले केहि सेवासुविधा निश्चित नगरी सिधै अतिरिक्त हुलाक खारेज गर्न खोजिएको भन्दै एशोसियसनका कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् । बर्तमान गठबन्धनको सरकारले अतिरिक्तका कर्मचारीहरुलाई बेवास्ता गरेर कुनै ठोस तयारी विना अतिरिक्त हुलाक खारेज गरेर बेरोजगारी सिर्जना गरेको भन्दै आफ्ना मागहरु राखेर चरणवद्धरुपमा आन्दोलन चर्काउन एशोसियसनले बृहत तयारी गरेको केन्द्रिय अध्यक्ष टंक हुमागाईले जानकारी गराउनु भयो । विक्रम सम्वत २०८० साल जेष्ठ १५ गते सार्वजनिक बजेट वक्तव्यमा देशैभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेको छ । हुलाक सेवा विभागका अनुसार अतिरिक्त हुलाक तर्फ १० हजार ८५६ दरबन्दी कायम छ भने त्यसमा ३ हजार ७४ हुलाक प्रतिनिधी, ३ हजार २४ जना पत्र वितरक र ४ हजार ७६० डाँकबाहक कार्यरत छन् ।
यसैगरी जिल्ला-जिल्लामा समेत आन्दोलनको स्वरुप तयार गरेको जिल्लास्थित प्रतिनिधीहरुले जानकारी गराएका छन् । यसैक्रममा आज रामेछाप जिल्लाका कर्मचारीहरुले जिल्ला हुलाक कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउदै आन्दोलनको स्वरुपबारे अग्रिम जानकारी गराइएको जिल्ला एशोसियसनका सचिव अम्बर बहादुर विश्वकर्माले तामाकोशी अनलाइनलाई जानकारी गराउनु भयो । सचिव विश्वकर्माका अनुसार असार ५ गते जिल्लाभरीको कर्मचारीहरु जिल्लाहुलाक कार्यालय अगाडी उतारेर कालोपट्टी बाधेर विरोध जनाउने साथै मागको कुनै सुनुवाई नभए १० गते जिल्ला कार्यालयमा तालाबन्धी गर्ने समेतको कार्यक्रमहरु रहेको जानकारी गराउनु भयो । ज्ञापनपत्र बुझ्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एशोसियसनको मागको बारेमा केन्द्रमा समन्वय गरेर मागको उचित सम्बोधन हुने वातावरण मिलाउने आश्वासन दिनुभएको जिल्ला एशोसियसनका सहसचिव तेजबहादुर बुढाथोकीले जानकारी गराउनु भयो । रामेछाप जिल्ला अतिरिक्त हुलाकमा हाल १२८ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।