रामेछाप । नेपाली काँग्रेस रामेछापले रामेछापकी प्रमुख जिल्ला अधिकारीले अनिता निरौलाले लिखु २ जलविद्युत आयोजना पीडितलाई थप पीडा हुने गरी निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ मा लिखु–२ जलविद्युत् परीक्षणका लागि सुरुङमा पानी पठाउँदा सुरुङ भन्दा तल रहेको ठाडा खोला, करनास र सो आसपासका बस्तीहरूमा सुरुङबाट पानी छिरेर जताततै मूल फुटेको र उक्त सुरुङ मुनी रहेको १०७ घरधुरीहरू मध्ये ४२ घरधुरी बस्नै नहुने उच्च जोखिममा छन् । जोखिम परेका स्थानीयहरूले आफूहरूलाई अर्के ठाउँमा सारेर आवश्यक क्षतिपूर्ति दिलाइदिन सरोकारवालासँग हारगुहार गरिरहेका छन् । यस्तो घटनाका बारेमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय प्रति आपत्ति जनाउँदै काँग्रेस रामेछापका सभापति एवं पतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ(कान्छाराम) ले सोमबार प्रेस विज्ञप्ति निकालेर प्रमुख जिल्ला अधिकारीको यो हरकत निन्दनीय रहेको भन्दै बस्तीमा कुनै पनि समयमा अप्रिय घटना भई जनधनको क्षति भएमा प्रमुख जिल्ला अधिकारी त्यसको जिम्मेवार हुनुपर्ने जनाउनुभएको छ । सभापति तामाङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यही जेठ २१ गते आइतबार रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एकलौटी ढङ्गले कुनै पनि सरोकारवाला पक्षसँग सरोकार नराखी हाइड्रोका प्रतिनिधिहरूसँग मात्र बैठक बसी पीडितहरूलाई थप पीडा हुने गरी र हाइड्रोपावरलाई उन्मुक्ति दिने गरी आफूखुसी निर्णय गर्नुभएको प्रति नेपाली काँग्रेस रामेछापको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । लिखु २ हाइड्रोपावर सँगको गोप्य साठगाँठ र स्वार्थमा त्यहाँका नागरिकहरू माथि सिडिओले गरेको गम्भीर हरकत निन्दनीय छ । त्यो बस्तीमा कुनै पनि समयमा अप्रिय घटना घट्न गई जनधनको क्षति हुन गएमा रामेछापकी प्रमुख जिल्ला अधिकारी नै त्यसको जिम्मेवार हुनुपर्ने र सजायको भागीदार समेत हुनुपर्ने उल्लेख छ ।
