रामेछाप । प्रकृतिलाई सन्तुलन कायम राख्न निकै ठुलो मद्दत पुग्ने भन्दै रामेछाप जिल्लाको सुख्खा ग्रस्त ठाउँमा केही वर्ष अघि पोखरीर निर्माण गर्ने अभियान चलेको थियो ।
सुख्खा ग्रस्त स्थानहरूमा पोखरी निर्माण गर्दा वर्षामा परेको पानी सङ्कलन हुने र त्यसबाट रिचार्ज भई हरियाली प्रवर्द्धनमा मद्दत पुग्ने विश्वासका साथ जिल्लाका केही पालिकाहरूले विभिन्न गैरसरकारी संस्थाहरूसँग मिलेर यो अभियान सञ्चालन गरेको थियो । तर यो अभियानले निरन्तरता पाउन नसक्दा यसरी निर्माण भएका पोखरीहरूको प्रभावकारिताको खासै परीक्षण हुन सकेन ।
पाँच मिटर गहिरो खन्ने हो भने त तीन करोड लिटर पानी अट्ने रहेछ, हेरौँ अब कति गहिरो बनाउन सकिन्छ’, उहाँले भन्नुभयो
अहिले फेरी यसरी सुख्खा ग्रस्त क्षेत्रको ठाउँ ठाउँमा पोखरी निर्माण गर्ने अभियानमा जिल्लाका केही स्थानीय तह लागेका छन् । जिल्लाको खाँडादेवी गाउँपालिकाले हेफरको प्राविधिक सहयोगमा जिल्लाकै ठुलो पोखरी निर्माण गर्ने योजना अगाडी सारेको छ । गाउँपालिकाले वडा नं ३ भिरपानीको आहाल डाँडामा जिल्लाकै ठुलो रिचार्जेवल पोखरी निर्माण कार्य सुरु गरेको छ ।
सुक्खा गाउँमा वर्षामा परेको पानी सङ्कलन गरी रिचार्ज गर्नको लागि पोखरी निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । ‘गाउँपालिकाको वडा नं ३ भिरपानी स्थित आहाल डाँडामा पोखरी निर्माणका लागि अहिले जमिन सम्म्याउने काम भइरहेको छ, पोखरी एक सय मिटर लामो र ६० मिटर चौडा बन्छ’, उहाँले भन्नुभयो । पाँच मिटर गहिरो बनाउने स्टमेट भएको भए पनि जमिनको स्टकचरको कारण त्यति गहिरो खन्न नसकिने हो कि भन्ने अवस्था रहेको उहाँले बताउनुभयो । ‘पाँच मिटर गहिरो खन्ने हो भने त तीन करोड लिटर पानी अट्ने रहेछ, हेरौँ अब कति गहिरो बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।
यस अघि पनि सो स्थानमा आहाल रहेकै कारण डाँडाको नाम नै आहाल डाँडा रहेको श्रेष्ठले बताउनुभयो । अहिले सोही स्थानमा ठुलो पोखरी बनाउन लागिएको र यो पोखरी सम्भवतः जिल्लाकै ठुलो रिचार्जेवल पोखरी हुने अध्यक्ष श्रेष्ठको दाबी छ । पाँच मिटर गहिरो पोखरी बनाउन २० लाख रुपैयाँको लागत स्टमेट गरिएको थियो । तर त्यति गहिरो नहुने भएको कारण कम खर्च लाग्ने उहाँले बताउनुभयो । विगतमा बनाइएका आहाल संरक्षण नहुँदा अधिकांश पुराना आहाल मासिएका छन् । ठाउँ ठाउँमा सडक खन्ने र खेलमैदान बनाउने कार्य गर्दा भएका परम्परागत पोखरीहरू पनि पुरिएका छन् । जसले गर्दा जमिनमा रिचार्ज नहुँदा गाउँघरमा धारा, पँधेरा सुकेर सुक्खाग्रत भएका छन् ।