कम्युनिष्ट पार्टीका संस्थापक प्रति सम्मान गर्दै कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइयो

  • प्रकाशित मिति: आइतबार, बैशाख १० २०८०
  • तामाकोशी

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछापमा कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवस शनिबार कम्युनिष्ट पार्टीका संस्थापक प्रति सम्मान गर्दै मनाइएको छ ।
नेकपा एमाले मन्थली नगर कमिटीको समन्वयमा नेकपा एमाले रामेछापले मन्थलीको तीनलाल पार्क ( गङ्गालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, कृष्णलाल अधिकारी) मा कार्यक्रम आयोजना गरेको हो । एमाले केन्द्रीय सदस्य निरु दर्लामी कुँवरको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा शान्तिप्रसाद पौडेल, लब श्रेष्ठ, गङ्गा कार्की, बुद्धिबहादुर कार्की लगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, जिल्ला कमिटीका पदाधिकारी, सदस्य, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायत नगरकमिटीका पदाधिकारी र सदस्य, जन वर्गीय संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य निरु दर्लामीले पुष्पलालले देखाएको बाटो कम्युनिष्ट पार्टीको एकताको बाटो भएको बताउनुभयो । पुष्पलालले देखाएका बाटो हिँड्ने हो भने नेपालका कम्युनिष्ट एक भएर हिँड्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सही गन्तव्यमा पु¥याउन पुष्पलालले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताउनुभयो । परिवर्तनको आन्दोलनलाई अझ बलियो बनाएर अघि बढाउन बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको र त्यसको नेतृत्व नेकपा एमालेले गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
कांग्रेसले लिएको बाटोबाट मुक्ति र परिवर्तन सम्भव छैन भनेर नै पुष्पलालले ७५ वर्ष अघि कम्युनिष्ट पार्टी स्थापना गरेको उहाँले स्मरण गराउनुभयो । त्यसैले कांग्रेसबाट परिवर्तन सम्भव नभएको उहाँले बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलन भित्र एकता र परिवर्तनको नेतृत्व एमालेले नै गर्ने उहाँले दाबी गर्नुभयो । छुटेका र छुट्टिएका कम्युनिष्टलाई एक बनाएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।