रामेछापको शैलुङमा हिमपात

  • प्रकाशित मिति: सोमबार, चैत्र २० २०७९
  • तामाकोशी

रामेछाप । चिसो मौसममा हिउँ नपरेको रामेछापको शैलुङमा यस वर्ष चैत महिनाको अन्तिममा हिमपात भएको छ । विगतका वर्षमा मङ्सिरको अन्तिमदेखि नै हिउँ पर्ने शैलुङमा यस वर्ष भने ढिलो गरी हिमपात भएको छ । देश भरको उच्च पहाडी र हिमाली क्षेत्रसँगै शैलुङमा पनि हिमपात भएको हो । आलु लगाउनु अघि नै हिउँ पर्नुपर्ने शैलुङमा हिउँ नपरेका कारण किसानहरूले सुक्खा बारीमा नै आलु रोपेका थिए । ढिलो गरी भए पनि हिउँ परेपछि बाली राम्रो हुने भन्दै शैलुङ क्षेत्रका किसानहरू खुसी भएका छन् । शैलुङमा दुई दिनदेखि लगातार बाक्लो हिउँ परेको स्थानीय दावासङ्बुु शेर्पाले जानकारी दिनुभयो । हिउँ परेपछि शैलुङ क्षेत्र मनोरम बनेको छ । हिउँ परेपछि शैलुङमा हिउँ खेल्न मानिसहरू पुगेका छन् । शैलुङसँगै रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका उच्च पहाडी भागमा पनि हिमपात भएको छ । गोकुलगंगाको पाँच पोखरी र जटा पोखरी क्षेत्रमा बाक्लो हिउँ परेको छ । उमाकुण्डको लाहाछेवर, गुम्देल लगायतका क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । प्रीतिको ताबेँ क्षेत्रमा पनि हिमपात भएको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो ।