बिपी राजमार्गमा टाइम कार्डको सास्ती

  • प्रकाशित मिति: बुधबार, चैत्र १५ २०७९
  • तामाकोशी

रामेछाप । बिपी राजमार्गमा प्रहरी र व्यवसायीको मिलेमतोमा सवारीसाधनलाई अनावश्यक रूपमा टाइम कार्ड लगाएपछि यात्रीहरू मारमा परेका छन् । स्थानीय होटेल व्यवसायीसँगको मिलेमतोमा ट्राफिक प्रहरीले सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्म टाइम कार्ड लागु गरेर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारणलाई हैरान पारेको छ । टाइम कार्डकै कारण यात्रीहरूको खर्च समेत बढाएको छ । सिन्धुली जिल्लामा त्यहाँको प्रहरीले छुट्टै टाइम कार्ड लगाएको छ भने काभ्रे प्रहरीले छुट्टै लगाएको छ । सिन्धुलीको खुर्कोटबाट सुरु हुने टाइम कार्ड नेपालथोकसम्म लागु हुन्छ । तोकिएको समयभन्दा अघि खुर्कोटबाट नेपालथोक र नेपालथोकबाट खुर्काेट आइपुग्ने गाडिलाई प्रहरीले जरिवाना लिने गरेको छ । यसै गरी काभ्रेको मंगलटारबाट सुरु हुने टाइम कार्ड भकुण्डे र काभ्रे भञ्ज्याङसम्म लागु हुन्छ । सामान्यतः साँढे दुईदेखि तीन घण्टामा पार गरिने खुर्कोटदेखि धुलिखेलसम्मको बाटो पार गर्न अहिले चार घण्टा बढी समय लाग्ने गरेको छ ।
यस अघि स्थानीय व्यवसायीसँग मिलेर सिन्धुलीमा पर्ने सडकमा प्रहरीले टाइम कार्ड लगाएको थियो । त्यसको सिको गर्दै काभ्रे प्रहरीले समेत टाइम कार्ड लगाउन लागेपछि यात्रीहरू सो सडकमा अनावश्यक रूपमा एक घण्टा अलमलिनु परेको छ । जति बिस्तारो चलाउँदा पनि तोकिएको टाइम अगाडि नै टाइम कार्ड लाग्ने ठाउँमा पुगिने भएकोले बिचमा दुई ठाउँमा गाडी रोक्नै पर्ने बाध्यता रहेको सवारी चालकहरू बताउँछन् । पार गर्न लाग्ने समयभन्दा बढी समयको टाइम कार्ड लगाइदिँदा यातायात साधनहरू रोकिनु पर्दछ । यसरी यातायात साधन रोकिँदा यात्रीहरूले खानेकुरा खाने र व्यापार हुने स्वार्थका कारण व्यवसायीले टाइम कार्ड लगाउन दबाब दिने गरेका छन् । व्यापारीहरूको स्वार्थमा टाइम कार्ड लगाउँदा त्यसको लाभ आफूलाई पनि आउने भएपछि प्रहरी र स्थानीय प्रशासनले वैज्ञानिक आधार बिना नै टाइम कार्ड लगाउने गरेका छन् ।
स्थानीय प्रशासन, प्रहरी र व्यवसायीको मिलेमतो भएकै कारण व्यवसायीले महँगो मूल्य लिएर खानेकुरा बिक्री गर्दा पनि प्रशासनले कुनै चासो दिएको छैन । काभ्रेका बिपी मार्गको छेउमा रहेका होटेलहरूले सानो कचौराको एक कचौरा आलुको झोल तरकारीलाई ७० देखि ८० रुपैँयासम्म लिने गरेका छन् । जबकि एकदेखि दुई गेडा आलुबाट सो झोल तरकारी तयार हुन्छ । स्थानीय प्रशासनले न खानेकुराको गुणस्तर र होटेलको सरसफाइका बारेमा अनुगमन गर्दछ, नै वैज्ञानिक मूल्य नै तोकेको छ । राजमार्गका व्यापारीहरूको लुट छ । यात्रीहरू दिनदिनै लुटिएका छन् । सामान्यतया रामेछाप, सिन्धुली लगायतका क्षेत्रका यात्रीहरू आफ्नो घरमा खाना वा खाजा खाएर हिँडेपछि खाना, खाजा खान काठमाडौं नै पुग्न सक्छन् । काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्मको दुरी करिब १ सय २५ किलोमिटर छ । त्यस्तै काठमाडौंदेखि सिन्धुलीसम्मको दुरी करिब १ सय ५० किलोमिटर छ ।
त्यति छोटो बाटो यात्रा गर्दा पनि यात्रीले दुई÷दुई ठाउँ रोकिएर बस्नु पर्दछ । प्रहरीले दुर्घटना कम गर्नको लागि टाइम कार्ड लगाएको बताए पनि त्यसको कुनै वैज्ञानिक आधार र तथ्य छैन । टाइम कार्ड लगाएपछि दुर्घटना कम भएको प्रहरीले दाबी गर्दै आएको भए पनि त्यसका आधार छैन । किनकि सवारी चालकहरू आफ्नै गतिमा सवारी साधन चलाउने र होटेलहरूमा गएर बस्ने गर्दछन् । यसले दुर्घटना कम गर्न कुनै सहयोग गरेको छैन । बरु टाइम कार्ड सकिएपछि बाँकी बाटोमा सवारी साधन दौडाउने हतारोले दुर्घटना बढाएको छ । टाइम कार्डले केवल यात्रीहरूलाई हैरानी दिएको छ । खर्च बढाएको छ । छिटो पुग्ने ठाउँमा ढिलो पु¥याएको छ । अझ बच्चा लिएर हिँडेका महिलालाई ठाउँ ठाउँमा रोकिएर बस्दा समस्या बढेको छ । वृद्ध, असक्त र बिरामीलाई बिना कारण रोकिएर बस्दा थप हैरान र पीडा हुने गरेको छ ।
त्यी मात्र होइन साँझ पर्ने बित्तिकै सार्वजनिक यातायातका साधनलाई काभ्रेभञ्ज्याङ र नेपालथोकको प्रहरीले नछाड्दा त्यहाँबाट डेढ÷दुई घण्टामा आफ्नो घर पुग्ने मन्थली र सिन्धुलीका यातायात साधनका यात्रीहरू बिच बाटोमा नै रोकिनु पर्ने बाध्यता रहेको छ । सो सडकमा निजी सवारी साधनलाई न त टाइम कार्ड लाग्छ, न रात÷साँझको कुनै बन्देज छ । तर सार्वजनिक यातायात र त्यसमा यात्रा गर्ने सर्वसाधारणलाई भने प्रहरीले अनावश्यक सास्ती दिएको छ ।साँझ परेपछि आपत् विपत् परेर सार्वजनिक सवारी साधन रिजर्भ गरेर हिँड्ने सर्वसाधारणलाई समेत प्रहरीले रोक्ने गरेको छ । परिवारको सदस्यको मृत्यु हुँदा गाडी रिजर्भ गरेर जाने सर्वसाधारणलाई समेत प्रहरीले राति जाने होइन बिहान गए भइहाल्यो नि भन्दै पीडा माथि थप पीडा दिने गरेको पीडित यात्रीहरू बताउँछन् । राज्यले नागरिकलाई असहज अवस्थामा समेत सहज बनाउनु पर्ने हो । तर बिपी राजमार्गमा नागरिकलाई सहज होइन थप असहज बनाइएको छ । सीमित मानिसको लाभको लागि स्थानीय प्रशासन र प्रहरीले नै सर्वसाधारणलाई हैरान दिएको छ ।