दोलखामा एमालेको मिसन ग्रासरुट अभियान

  • प्रकाशित मिति: सोमबार, चैत्र ६ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको मिसन ग्रासरुट दोलखामा जारी छ । जिल्लाको भीमेश्वर नगरपालिकामा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान अन्तर्गत पाँचवटा वडामा प्रशिक्षण कार्यक्रम सकिएका छन् । सो नगरपालिकाको वडा नं १,२,३,६ र ७ मा वडाको बैठक तथा प्रशिक्षण सहित कार्ययोजना निर्माण गरेर अभियान सुरु भएको पार्टी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । अभियान अन्तर्गत आफ्नो पार्टी सदस्य आफैँ नवीकरण गर्ने गरी शिविर सञ्चालन गर्ने, नवीकरण भएका संगठित सदस्यलाई प्रशिक्षण दिने, वडा स्तरका जनवर्गीय संगठन जीवन्त र सक्रिय बनाउने, निर्वाचित जनप्रतिनिधि र पार्टीबिच समन्वय गरी कार्यक्रम बनाउने, जनताको काम र विकास निर्माणमा काम गर्ने, पार्टीलाई सुदृढीकरण, सुद्धिकरण गर्ने निर्णय भएर कार्यान्वयन सुरु गरिएको मानन्धरले बताउनुभयो । एमालेप्रति बढ्दो जनताको आकर्षणलाई कायम राख्न र जनविश्वास बढाउन कमिटीले काम गर्ने, पार्टीभित्र आन्तरिक मतभेद, असमझदारी र द्वन्द्व समाधान गरी एक ढिक्का भई पार्टीको गतिविधि अघि बढाउने, निर्वाचनमा भएका कमीकमजोरीको समीक्षा गर्ने र आगामी दिनमा सुधार गर्ने निर्णय सहितका काम अघि बढेका पनि उहाँले जानकारी दिनुभयो । मिसन ग्रासरूट अन्तरगत केन्द्रीय सदस्य सुवास देवकोटाले जिरी नगर, बैत्येश्वर र तामाकोसी पालिकाका वडामा काम गरिरहनु भएको छ । उहाँले हालसम्म १४ वटा कार्यक्रममा प्रशिक्षण दिनुभएको छ । केन्द्रीय सदस्य गोविन्द दुलालले कालिञ्चोक, विगु र गौरीशंकर पालिकाको अभियानमा संलग्न हुनुहुन्छ ।